२०८३ साउन ९ शनिबार

लमजुङका १७ आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन

ई आर्थिक    मंगलबार, असार १७ २०८२
4K
Shares
लमजुङका १७ आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन

ई-आर्थिक, लमजुङ ।  हिउँदको समयमा घटेको विद्युत उत्पादन वर्खा लागेपछि लमजुङमा आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन भएको छ। यहाँ मर्याङ्दी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायतका खोलामा पर्याप्त पानी हुन थालेसँगै केही हप्ताअघिदेखि उत्पादन थालेका जिल्लाका १७ आयोजनामा पूर्ण रुपमा बिजुली उत्पादन भएको हो।

गत मंसिरबाट घटेको विद्युत उत्पादन यतिबेला पूर्ण क्षमतामा उत्पादन भएको हो। जिल्लामा उत्पादन थालेको सबैभन्दा ठूलो बेँसीसहर नगरपालिका-१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य-मर्याङ्दी जलविद्युत आयोजनामा गत मंसिरको सुरुआतदेखि नै विद्युत उत्पादन घटेर यस आयोजनाको विद्युत २४ मेगावाट मात्र उत्पादन हुने गरेको थियो।

यतिबेला भने मर्याङ्दी नदीमा पर्याप्त पानी भएकाले ७० मेगावाट नै बिजुली उत्पादन भइरहेको मध्य-मर्याङ्दी जलविद्युत आयोजना केन्द्रका प्रमुख पवन बस्नेतले बताए। गत वर्षको तुलनामा केही ढिलो गरी विद्युत उत्पादन बढेको उनको भनाइ छ।

मध्य-मर्याङ्दी आयोजना सन् २००८ मा निर्माणसम्पन्न भएको हो। उक्त आयोजना २७ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माणसम्पन्न भएको थियो। यो जलविद्युत आयोजना जिल्लाकै पहिलो जलविद्युत आयोजना हो।यसपछि जिल्लामा क्रमशः आयोजना निर्माण हुँदै बिजुली उत्पादन हुन थालेको छ।

सो आयोजनापछि मर्याङ्दी गाउँपालिका-८ भुलभुलेमा ५० मेगावाट क्षमताको माथिल्लो मर्याङ्दी ‘ए’ जलविद्युत आयोजनाले बिजुली उत्पादन थाल्यो। यस आयोजनामा पनि हिउँदमा बिजुली उत्पादन घटेर २५ मेगावाट मात्र उत्पादन भएकामा अहिले नदीमा पानी पर्याप्त भएसँगै पूर्ण क्षमतामा उत्पादन भइरहेको आयोजनाका इन्जिनियर कर्ण अधिकारीले बताउँछन्।

उनले भने, ‘यस वर्ष उत्पादन घट्दा २५ मेगावाटको एउटा टरवाइन मात्र चलाएका थियौँ, अहिले दुईवटा चलाएका छौँ।’ यहाँ मात्र होइन यतिबेला नेपालभरिकै आयोजनाबाट बिजुली पूर्ण क्षमतामा उत्पादन हुने गरेको उनले बताए।

त्यसैगरी, दोर्दी कोरिडोरमा रहेको पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको दोर्दी-६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत उत्पादन बढेको छ। हिउँमा बिजुली उत्पादन घटेर १३/१४ मेगावाट मात्र बिजुली उत्पादन भएकामा हाल पूर्ण रुपमा बिजुली उत्पादन भइरहेको आयोजनाले जनाएको छ।

त्यसैगरी, ३० मेगावाटको ङादी जलविद्युत आयोजना, दोर्दी कोरिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत, दोर्दी-६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, चार दशमलव चार मेगावाटको राँधीले पनि पूर्ण क्षमतामा उत्पादन सुरु गरेका छन्।

तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट बिजुली पूरै क्षमतामा उत्पादन भएको छ। जिल्लामा उत्पादित विभिन्न आयोजनाबाट तीन सय मेगावाट बिजुली उत्पादन भएको बताइएको छ। जिल्लाका आयोजनामा बिजुली घट्दा र बढ्दा देशलाई नै आर्थिक रुपमा प्रभाव पार्छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij