ई-आर्थिक, काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षका लागि कुल खर्च ३८ अर्ब ९१ करोड विनियोजन गरेको छन् । कुल विनियोजनमध्ये चालुतर्फ १२ अर्व १ करोड ४७ लाख ८६ हजार अर्थात् ३०.८८ प्रतिशत र पुँजीगततर्फ रु.२३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६०.३२ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ रु.३ अर्व ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८.८० प्रतिशत रहेको जनाएका छन् ।
आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम बमोजिम प्रदेश सरकारका निकायबाट सञ्चालन गरिने आयोजना तथा कार्यक्रम कार्यान्वयन र अनिवार्य दायित्व भुक्तानीका लागि प्रदेश सञ्चित कोषबाट विनियोजन हुने रकम रु.३८ अर्व ८९ करोड ९४ लाख ७२ हजार र प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने रकम रु.१ करोड ५ लाख २८ हजार विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट रु.७ अर्ब ७८ करोड ४ लाख नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट रु.११ अर्व ८६ करोड ५६ लाख, नेपाल सरकारबाट प्राप्त हुने रोयल्टी रु.४१ करोड ५० लाख, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व रु.२ अर्ब ८२ करोड ९० लाख हुने अनुमान गरेको छ ।
त्यस्तै गरी नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु.८ अर्ब ४४ करोड ४४ लाख, सशर्त अनुदानबाट रु.४ अर्ब ६६ करोड १५ लाख, समपुरक अनुदानबाट रु.५१ करोड ४० लाख, विशेष अनुदानबाट रु.४० करोड, चालु आर्थिक वर्षको नगद मौज्दातबाट रु.२ अर्थ परिचालन हुने अनुमान गरेको छ ।