२०८३ साउन १२ मंगलबार

भट्टराईको ‘वित्तीय स्वतन्त्रता’ पुस्तक विमोचन

ई आर्थिक    बुधबार, बैशाख ३ २०८२
2.6K
Shares
भट्टराईको ‘वित्तीय स्वतन्त्रता’ पुस्तक विमोचन

ई-आर्थिक, काठमाडौं ।  सेयर बजार विश्लेषक रविन्द्र भट्टराई लिखित ‘वित्तीय स्वतन्त्रता’ नामक पुस्तक विमोचन गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन)मा आयोजित एक कार्यक्रमबीच लेखक भट्टराई, सेजन अध्यक्ष सुजन ओली र सेजनका पूर्व अध्यक्ष गोकर्ण अवस्थीले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गर्नुभएको हो ।

पुस्तकमा वित्तीय रुपमा स्वतन्त्र बन्ने उपाय र त्यसमार्फत थप प्रगति हासिल गर्न सकिने विषय समेटिएको लेखक भट्टराईले बताउनुभयो ।

छलफलका क्रममा लेखक भट्टराईले कम्पनीहरुलाई अङ्कित मूल्य एक सय रुपैयाँभन्दा कममै प्राथमिक निष्काशन (आईपीओ) जारी गर्न दिनुपर्ने बताउनुभयो । अङ्कित मूल्य घटाएर जारी हुने सेयर संख्या बढाउन सकिने उहाँको धारणा छ । ‘अंकित मूल्य एक रुपैयाँका दरले पनि आईपीओ जारी गर्न सकिन्छ, सेयर संख्या बढाएपछि आवश्यक पूँजी त्यति नै जुटिहाल्छ’ उहाँले भन्नुभयो ।

त्यस्तै महँगा कम्पनीलाई बेलाबेलामा ‘स्टक स्प्लिट’ गरेर पहुँच बढाउन सकिने पनि उहाँको धारणा थियो । महँगा कम्पनीले थप सेयर जारी गरेर सोअनुसार मूल्य घटाउनु नै ‘स्टक स्प्लिट’ हो ।
कम्पनीहरुलाई वार्षिक मात्रै नभई त्रैमासिक रुपमा लाभांश वितरण गर्न दिनुपर्ने भट्टराईको भनाई थियो । अन्य विकसित मुलुकमा कम्पनीहरुले मासिक नै नगद लाभांश दिने गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले भन्नुभयो ‘यहाँ कम्तीमा त्रैमासिक रुपमा लाभांश दिन सक्ने व्यवस्था गर्न सकिन्छ, हाइड्रोपावर लगायत कतिपय सेक्टरका कम्पनीको आम्दानी निश्चित नै छ ।’

सरकारी स्वामित्वको नेपाल स्टक एक्स्चेन्जले पूँजी बजारमा विकसित प्रविधि तथा क्षमताको विस्तार गर्न नसकेकै कारण निजी क्षेत्रको स्टक एक्स्चेन्ज जरुरत परेको पनि उहाँको धारणा छ । ‘विश्वका अधिकांश मुलुकमा स्टक एक्स्चेन्ज सरकारी स्वामित्वमा हुँदैनन्’ उहाँले भन्नुभयो ‘यहाँ सरकारी स्वामित्वमा हुँदा अध्यक्षसहित बोर्डमा सरकारी नियुक्ति हुन्छ, यसले स्वतन्त्र रुपमा निर्णय गर्न सक्दैन ।’

अन्य मुलुकमा संस्थागत लगानीकर्ताले बजारलाई ‘ड्राइभ’ गर्ने गरे पनि नेपालमा संस्थागत लगानीकर्ताको संख्या र भएका संस्थको पनि क्षमता कमजोर रहेको उहाँले बताउनुभयो । त्यस्तै सूचकमै पनि कारोबार गर्न सक्ने व्यवस्था जरुरत रहेको उहाँले बताउनुभयो । ‘एकपटक नेप्से ३० इन्डेक्स चलाउने तयारी पनि भयो, तर त्यत्तिकै सेलायो’ उहाँले भन्नुभयो ।

विभिन्न सामाजिक सञ्जालबाट निश्चित कम्पनी तोकेर खरिद वा बिक्री गर्न सुझाव दिने गतिविधि गलत भएको उहाँले स्पष्ट पार्नुभयो । ‘क्यानडा लगायत अन्य मुलुकमा पनि कसैले कुनै कम्पनी सुझाव दिएर हानी नोक्सानी पर्न गएमा त्यसको क्षतिपूर्ति भराउनेसहित कारबाही हुने गर्छ’ उहाँले भन्नुभयो ‘कुनै कम्पनी खरिद, बिक्री गर्नेगरी कसैले सुझाव नै दिँदैन ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij