२०८३ साउन १२ मंगलबार

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

ई आर्थिक    शुक्रबार, चैत्र २९ २०८१
3K
Shares
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

ई-आर्थिक, काठमाडौं । तीनकुने घटनाका मुख्य आरोपित  दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको  इजलासले  प्रसाईँ सहित उनका बडिगार्डलाई  १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

राज्यविरुद्धको कसुरमा प्रसाईंलाई कारबाही अगाडि बढाउने गरी म्याद दिइएको अदालतले जानकारी दियो ।

प्रसाईंका बडीगार्ड दीपक खड्कालाई पनि अदालतले १२ दिन नै हिरासतमा राख्ने अनुमति दिएको छ ।

नेपाल प्रहरीका एसपी अपिल बोहराका अनुसार प्रसाईंमाथि राज्यविरुद्धको अपराध र संगठित अपराधमा अनुसन्धान हुनेछ ।

राजावादी प्रदर्शनमा ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाई दुई सातापछि पक्राउ परेका हुन् । नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले प्रसाईलाई शुक्रवार झापामा पक्राउ गरिएको जानकारी दिएका थिए ।

“तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाई र उक्त घटनामा संलग्न निजका अङ्गरक्षक दीपक खड्कालाई झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी काठमाण्डू ल्याइँदै गरिएको बेहोरा जानकारी गराइन्छ,” प्रहरी प्रवक्ता आचार्यले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

उनलाई भारतको असममा नियन्त्रणमा लिइएको विवरण आए पनि प्रहरीले झापाको भद्रपुर क्षेत्रमा पक्राउ गरिएको बताएको छ।

राजसंस्था पुनर्बहालीको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दा निजी तथा सरकारी भवन, कार्यालय तथा सवारीसाधनमा आगजनी र तोडफोड भएपछि सरकारले प्रसाईको खोजी गरिरहेको थियो।

केही दिनअघि उनले आफू आत्मसमर्पण गर्न तयार रहेको भन्दै सामाजिक सञ्जालमा एउटा भिडिओ सार्वजनिक गरेका थिए। विद्युतीय कारोबार ऐन उल्लङ्घन गरेको आरोपमा प्रसाईलाई गत असोज महिनामा पनि पक्राउ परेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij