२०८३ साउन १२ मंगलबार

नारायणगढ-बुटवल सडक पूर्वी खण्डको ५० किलोमिटर सडक कालोपत्र

ई आर्थिक    मंगलबार, चैत्र १९ २०८१
4K
Shares
नारायणगढ-बुटवल सडक पूर्वी खण्डको ५० किलोमिटर सडक कालोपत्र

ई-आर्थिक,नवलपरासी ।  नारायणगढ-बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ। पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो।

योजनाका सूचना अधिकारी शिव खनालका अनुसार आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत कालोपत्र गर्ने लक्ष्यअनुसार काम भइरहेको छ। दाउन्ने खण्डमा यात्रा गर्दा सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने उनले बताए। ढलानको काम यसै सातादेखि थालिने छ।

‘पहिलो चरणमा एकतर्फी रूपमा यातायात सहज होस् भन्ने हो, यसलाई प्राथमिकता दिएका छौँ, सँगै दोस्रो भागतर्फको काम पनि समानान्तर रूपमा भइरहेको छ’, सूचना अधिकारी खनालले भने।

विसं २०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक विस्तारको काम सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो। नारायणगढ-बुटवल सडकको कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी काम थालिएको हो।

निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउनसम्मका लागि दोस्रोपटक म्याद थप गरिएको थियो। सो अवधिमा पनि काम सम्पन्न नभएपछि २०८२ साउनसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ।

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक विस्तार योजनाको दुवै खण्ड १६ अर्ब ९९ करोड ५३ लाख रुपैयाँको लागतमा काम भइरहेको सूचना अधिकारी खनालले बताए। एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन तथा २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६-६ मिटरको सर्भिस लेन हुनेछ। दाउन्नेमा १४ किलोमिटर सडक तीन लेनको हुने छ। रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij