२०८३ साउन ९ शनिबार

ट्रम्प प्रशासनद्वारा चार देशका पाँच लाख भन्दा बढी आप्रवासीको कानुनी मान्यता खारेज गरिँदै

ई आर्थिक    शनिबार, चैत्र ९ २०८१
2.9K
Shares
ट्रम्प प्रशासनद्वारा चार देशका पाँच लाख भन्दा बढी आप्रवासीको कानुनी मान्यता खारेज गरिँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले क्युबा, हेइटी, निकारागुआ र भेनेजुएलाका पाँच लाखभन्दा बढी आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने बताएको छ।

अमेरिकी सङ्घीय सरकारले जारी गरेको एउटा सूचनाअनुसार ती आप्रवासीहरूलाई आगामी एप्रिल २४ मा उनीहरूको बसोबास अनुमतिपत्र रद्द हुनुअघि नै देश छाड्न चेतावनी दिइएको छ।

ट्रम्पका पूर्वर्ती जो बाइडनका पालाको एउटा आप्रवासन योजनाअन्तर्गत ती देशहरूबाट ५ लाख ३० हजार मानिसहरूलाई अमेरिका प्रवेश गर्न दिइएको थियो।

उनीहरू कसरी अमेरिका पुगेका थिए ?

उनीहरूलाई कानुनी रूपमा अमेरिका बसाइसराइका निम्ति बाटो खोल्ने उद्देश्यले बसोबास अनुमति दिइएको थियो।

उक्त कार्यक्रमलाई सीएचएनभी भनिन्छ र त्यसमा ‘स्पोन्सरशीप’ प्रक्रियाका माध्यमबाट मानिसहरूलाई अमेरिकामा बसोबास गर्न दिइएको थियो।

ट्रम्पले कार्यभार सम्हालेपछि त्यो कार्यक्रमलाई रद्द गरिदिएका छन्।

ती आप्रवासीमध्ये कतिले अन्तरिम परिस्थितिमा अमेरिकामा बस्नका लागि कानुनी बसोबासको अनुमति लिने सक्छन् वा सक्दैनन् भन्ने स्पष्ट छैन।

बाइडनका पालामा सन् २०२२ मा उक्त कार्यक्रम सुरु भएको थियो।

अन्य देशहरूमा विस्तार गर्नुअघि सुरुमा भेनेजुएलाका नागरिकका लागि त्यो लागु भएको थियो।

ट्रम्प प्रशासनद्वारा बाइडन प्रशासनको आलोचना

उक्त कार्यक्रम अन्तर्गत आप्रवासी र उनीहरूका नजिकका पारिवारिक सदस्यलाई अमेरिकी ‘स्पोन्सर’ भए दुई वर्षका लागि अमेरिकामा बस्ने अस्थायी आप्रवासन सुविधा दिइएको थियो। त्यसलाई ‘परोल’ भनेर चिनिन्छ।

बाइडन प्रशासनले सीएचएनभीले अमेरिकाको दक्षिणी सिमानाबाट हुने अवैध सीमा आगमनलाई रोक्न र देशमा प्रवेश गर्नेहरूको उपयुक्त जाँचमा सहयोग पुर्‍याउने तर्क गरेको थियो।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले शुक्रवार पहिलेको प्रशासन आफ्नो उक्त लक्ष्य प्राप्तिमा असफल भएको जनाएको छ।

उसले जारी गरेको विज्ञप्तिमा बाइडनका अधिकारीहरूले “उनीहरू [आप्रवासी]लाई अमेरिकी रोजगारीका निम्ति प्रतिस्पर्धाको अवसर दिए र अमेरिकी कामदार कटौती गरे र झूटा विवरण पेस गरिएको थाहा हुँदाहुँदै सरकारी कर्मचारीहरूलाई उक्त कार्यक्रमको जबरजस्ती प्रवर्द्धन गर्न लगाए अनि त्यसपछि उत्पन्न अराजकता र अपराधका लागि संसद्‌मा रिपब्लिकनलाई दोष दिए,” भनिएको छ।

यद्यपि फेडरल रजिस्टरमा जारी भएको ३५ पृष्ठको सूचनामा अमेरिकामा सीएचएनभीअन्तर्गत आएका र रहेका केहीलाई “उनीहरूको मूल्याङ्कनका आधारमा” बस्न अनुमति दिन सकिने उल्लेख छ।

योसँगै ट्रम्पले रुसले आक्रमण गरेपछि युक्रेनबाट भागेर अमेरिका पुगेका २ लाख ४० हजार युक्रेनी नागरिकको बसोबासको अस्थायी कानुनी मान्यतालाई रद्द गर्ने कि नगर्ने भनेर पनि विचार गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij