ई–आर्थिक, काठमाडौं । के तपाईसँग पुँजी बजारमा १५ बर्ष काम गरेको अनुभव र सीईओ बन्ने योग्यता छ ? यदी छ र कुनै प्रतिष्ठित कम्पनीको सीईओ बनाउनलाई योग्य र अनुभवि हुनुहुन्छ ? अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न आवेदन माग गरेको छ । यो सूचना पहिलो पटक २०८१ फागुन १२ मा प्रकाशित भएको छ र आवेदन दिने अन्तिम मिति २०८१ फागुन १८ सम्म तोकिएको छ।
आवेदन अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा कार्यालय समयभित्र पेस गर्नुपर्नेछ। आवेदनसँगै गोप्य खामबन्दी व्यावसायिक कार्ययोजना पनि संलग्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
आवश्यक योग्यतामा अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य कानून वा चार्टर्ड एकाउन्टेन्सीमा स्नातकोत्तर वा सोसरह हुनुपर्ने उल्लेख छ। पूँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनमा कम्तीमा १५ वर्षको अनुभव, जसमध्ये ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको हुनुपर्ने कुरा पनि उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणजस्ता कसूरमा सजाय नपाएको ३० देखि ६५ वर्ष उमेर भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदन दस्तुर ७ हजार ५०० रुपैयाँ तोकिएको छ। सिईओको पारिश्रमिक, भत्ता र सुविधा नेपाल स्टक एक्स्चेन्जले सरकारको स्वीकृतिमा तोके बमोजिम हुने उल्लेख छ।