ई–आर्थिक, काठमाडौं । केही महिना अघि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको झापाको दकममा बनेको दमक ‘भ्यू टावर’को विषय टिप्पणी नगर्ने नेपाली सायदै होलान् । आर्थिक क्षेत्रका जानकार तथा विश्लेषकद्वय अशोक शेरचन र गोपीकृष्ण न्यौपानेले पनि यस विषयमा आ–आफ्नै टिप्पणी गरेका छन् । पछिल्लो समय आएको उनीहरुले भ्यू टावरलाई सदुपयोग गर्नुपर्ने कुरा आ–आफ्नै तरिकाबाट सुझाएका छन् । यसमा बनेको धेरैले अनुत्पादक लगानी भनेको छन् । ‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको यो भव्य संरचना निर्माण गर्न १ अर्ब ५६ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । केहीले यसमा गरिएको रकम दुरुपयोग भएको भनि टिप्पणी पनि गर्ने गरेको सुनिन्छ । बनिसकेको भ्यू टावरलाई सदुपयोग गर्नुपर्ने ‘सार’ शेरचन र न्यौपानेको रहेको छ । हरेक आर्थिक क्षेत्रको बारेमा राम्रो दख्खल भएका शेरचन र न्यौपाने यस क्षेत्रमा विश्लेषण राख्ने क्षमता पनि राख्छन् ।
प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सुझाव

अनयासै दमकको दमक बिजनेस कम्प्लेक्स पुग्ने अवसर जुरयाे । यसका बारेमा धेरै चर्चा परिचर्चा बिगतमा भएकोे छ । मैले आज त्यहाँ पुगेपछी यस्को उपयोगिताका बारेमा बहुपक्षीय सम्भावनाहरु बारे मनन गर्दै गर्दा मलाई लागेको कुराहरू राख्दै छु :
१. १८ तले यस टावरकाे बिहृंगमताले भविष्यमा त्यस क्षेत्रको बैभबता झल्काउने छ । जसरी धरहरा, घन्टाघर, सिंहदरबार र शहिदगेटले काठमाडौंकाे बैभबता झल्काईरहेको छ । यी धरोहरहरु कल्ले बनाए भनेर हामी भन्दैनौ तर गर्वले शिर भने उँचो बनाउँछाै ।
२. यस टावरलाई प्रबिधी टावर (Technolgy Tower) काे रूपमा बिकास र बिस्तार गर्नुपर्छ ।
३. जहाँ एउटा तलामा नेपालमा नेपाल टेलिकमकाे बिगत, बर्तमान र भबिस्य देख्न पाईयोस । सङै टेलिकमका दुई चार सय कर्मचारी उक्त टावरमा प्रबिधीका काममा कार्यरत रहुन ।
४. त्यसै गरि एनसेलको आगमन, अवस्था र उडान भविष्यकाे अर्को तलामा देख्न पाईयोस । सङै एनसेलका दुई चार सय कर्मचारी उक्त टावरमा प्रबिधीका काममा कार्यरत रहुन ।
५. भारतको प्रसिद्ध प्राबिधिक कम्पनी इन्फोसिस(Infosys) जो नेपालको लगभग सबै बाणिज्य बैंकहरुलाई कोर बैंकिङ सफ्टवेयर (CBS) आपूर्ति गर्ने कम्पनी पनि हो, उस्को प्रदर्शनी कक्ष र प्रयोगशाला (R&D) एवं केही सय कर्मचारीहरु अर्को तलामा ।
६. चिनियाँ प्राविधिक कम्पनी हुवावे(Huawei) जस्को उपस्थिति नेपाली बजारमा प्रशस्त देखिन्छ, उस्को प्रदर्शनी कक्ष र प्रयोगशाला (R&D) एवं केही सय कर्मचारीहरु अर्को तलामा ।
७. नेपाली सडकमा हिजाेआज Electric vehicle(EV) को संख्या दिनहुुँ बढीरहेकाे छ र भविष्यमा याे क्रम अझ बढने छ, त्यसो हुँदा BYD लगायतका कम्पनीहरुलाई EV प्राबिधिकहरुको बिकासका लागि प्रशिक्षण केन्द्र खोल्नका लागि २ वटा तला छुट्टाउने ।
८. सफ्टवेयर र एप्स बिकास गरेर निर्यात गर्ने र आन्तरिक बजारमा आपूर्ति गर्ने नेपाली कम्पनीहरु र तिन्का केही सय कर्मचारीहरुका लागि २ वटा तला ।
९. अन्य बहुराष्ट्रिय कम्पनीका प्रदर्शनी कक्ष र सेवाहरुका लागि २ वटा तला र दर्जनौ कर्मचारीहरु ।
१०. नेपाली हस्तकलाहरुको प्रदर्शनी कक्षका लागि १ तला र केही दर्जन कर्मचारीहरु ।
११. भाटभटेनी सुपरस्टोरका लागि १ तला चौबीसै घन्टा खुल्ने सेवा सहित र केही सय कर्मचारीहरु ।
१२. नेपाली स्वादका परिकारहरु पाईने रेस्टुरेन्टहरुका लागि १ तला र केही सय कर्मचारीहरु ।
१३. प्रबिधिमैत्री बने सङै सबैलाई साइबर आक्रमणको डर बढेर गएकाे छ, त्यस कारण एउटा केन्द्रीकृत साइबर सुरक्षा केन्द्रका लागि १ तला र केही दर्जन कर्मचारीहरु ।
१४. बैंक, बिमा र पूँजीबजारका सेवाकेन्द्रहरुका लागि १ तला र केही दर्जन कर्मचारीहरु ।
१५. बाँकी रहेका ३ तलामा बस्नका लागि सुविधाजनक अपार्टमेन्टहरु ।
याे मेराे ब्यक्तिगत धारणा हो । बनिसकेको पुर्बाधारहरुको उचित प्रयोग र उपयोग गर्नुपर्दछ ।

आर्थिक क्षेत्रका जानकार तथा विश्लेषक गोपीकृष्ण न्यौपानेको सुझाव

सम्माननीय प्रधानमन्त्रीज्यूबाट दमक भ्यू टावरको समुद्घाटन हुंदैगर्दा यो टावरको उपयोग नीति पनि बनेकै छ, यो नीति भित्र यस्तो भैदिए हुन्थ्यो भन्ने मेरो मनको कुराहरु:
– दमकमा सिसियु, आइसियु, क्याथल्याब, Orthopedics and Traumatology सहितको एउटा आधुनिक हस्पिटल आवश्यक छ । B & C हस्पिटल बिर्तामोडमा अब मेडिकल कलेज संचालन हुंदैछ । नेपाली मात्रै होइन भारतलगायत बिदेशी विद्यार्थीको ओइरो लाग्ने संभावनालाई यो दमक हस्पिटलले समेत टियुको आंगिक मेडिकल कलेज संचालन गर्न सक्छ र आय आर्जन गर्न सक्छ ।
– सरकारले न्यूनतम समर्थन मूल्यमा किनेका सामानको लागि कोल्ड स्टोरोज बनाउने र बिक्रीका लागि अनुदान सहित सस्तो मूल्यमा सपिङ सेण्टरको बिकास गर्न सक्छ ।
– वातावरण अनुकुल हुने, महिला तथा सीमान्तकृत नागरिकबाट संचालित साना तथा घरेलु उद्योगबाट उत्पादन गरी आय आर्जनको स्रोत बिकास गर्न सक्छ ।
– एउटा भौतिक पूर्वाधार सहितको बिभिन्न बिधाको आंगिक कलेज चलाएर सस्तोमा विद्यार्थी पढाउन सक्छ ।
– प्रदर्शनी हल बनाएर पूर्वी क्षेत्रका उत्पादन तथा सेवाहरुको प्रदर्शन गराउन सक्छ । सेमिनार हल बनाएर, पार्टी हल बनाएर पूर्वेली कार्यक्रमहरु यहीँबाट संचालन गर्न सक्छ ।
– नेपाली उत्पादनहरुको सोरुम बनाएर कर छुटको माध्यमबाट सस्तो तथा गुणस्तरीय सामान उपलब्ध गराउन सक्छ ।
– बेलुकी ५ बजेदेखि ९ बजेसम्म बिभिन्न मनोरञ्जन सहितको लोकल खानेकुरा पाइनेगरी आधुनिक रेष्टुरेन्ट खोल्न सक्छ।
– पूर्वको आकस्मिक सेवा कक्ष एम्बुलेन्स, दमकल लगायतका साधन स्रोतको व्यवस्थापन गर्न सक्छ ।
– प्राकृतिक प्रकोपबाट प्रभावितलाई अस्थायी बसोबास गराउने थलो पनि बन्न सक्छ ।
– बिदेशबाट सिप सिकेर आएका नागरिकको लागि सहुलियतपूर्ण कर्जा मार्फत सिकेको सिप अनुसार स्वरोजगार बनाउने थलोको रुपमा बिकास गर्न सक्छ।
– यी सबै सेवा सुबिधाहरुबाट सूसज्जित भ्यू टावरबाट चारैतिर हेरेर मनोरञ्जन लिन भारतीय टुरिष्टहरुको लागि यो भवन आकर्षक थलो बन्न सक्छ।
– दमकबाट दिइने मालपोत, नापी, यातायात, नगरपालिकाको काउण्टर आदिबाट एकीकृत नमुना सरकारी सेवा दिन सक्छ।
– यी सबै सेवा सुबिधा सम्पन्न भएपछि दमकको रौनक नै फरक पर्नेछ र यसको प्रभावले अरु साना ठूला व्यवसाय पनि त्यतिकै चल्नेछन।
राज्यको लगानी हुंदा पक्कैपनि राम्रोसँग अध्ययन भएकै छ, सो अध्ययन बमोजिम कार्यान्वयन गरेर अरु प्रदेशमा समेत यस्ता भवनहरु बनाउन प्रोत्साहन होस, शुभकामना।