२०८३ साउन १० आइतबार

चटपटे व्यापारकै भरमा तिवारीले जोडे घर घडेरी

ई आर्थिक    मंगलबार, माघ १ २०८१
7.4K
Shares
चटपटे व्यापारकै भरमा तिवारीले जोडे घर घडेरी

सङ्घर्ष गर्न सके र कामलाई निरन्तरता दिन सके सफलता प्राप्त गर्न सकिन्छ भन्ने तिवारीको जीवनबाट पाठ सिक्न सकिन्छ

बविता थापा, काठमाडौं । काठमाडौंको मध्य विन्दुमा रहेको बानेश्वर स्थित बुद्धनगरको चटपटे पसलमा ग्राहकहरुको भिडभाड देखिन्छ । भिडभाड देखिएको चटपटे पसल अरु कसैको नभएर चटपटे व्यापारी तिवारीको हो ।

चटपटे व्यापारी श्रीनन्दन तिवारी उमेरले ५० बर्ष भए । रौतहटमा जन्मेका तिवारी घरका कान्छा छोरा हुन् । उनको परिवारमा दुई दिदी तीन दाई, बुबाआमा र उनी स्वयम् गरी आठ जनाको परिवार रहेका थियो । बुढ्यौलीको कारण उनको बुबाआमाको भने मृत्यु भइसकेको छ भने उनका दाई दिदी आ-आफ्नो घर व्यवहारमा रमाइरहेका छन् । १३ बर्षको कलिलो उमेरमा काठमाडौंको दिशा पछ्याउँदै आएका तिवारीको जीवन सरल भने थिएन।

“बाल्यकाल देखि नै मैले काम गर्न थालेको थिए ” उनले भने।एक बर्ष उनले अर्काको घरमा बसेर घरायसी काम गरे भने एक बर्ष ब्याट्री पसलमा काम गरे । अन्जान शहर काठमाडौंमा त्यहीँ माथि बालक तिवारीलाई गन्तव्य भेटाउने बाटो पहिलाउन भने मुस्किल नपरेको हैन ।

कोहिँ न हुनेको भगवान् हुन्छन् भने झै उनका लागि फुपुका छोरा भगवान् सरह प्रस्तुत भैदिए । इन्डियाको आसामबाट आएका उनका फुपका छोराले चटपटे पसल गरौं भने पछि उनमा पनि काम गर्ने जोश जाँगर बढेर आयो । अनि यसरी सुृरु भयो तिवारीको चटपटे व्यापारको यात्रा ।

सुरुवाती चरणमा उनले टोकरीमा राखेर नै चटपटे व्यापार गरे । काठमाडौंका विभिन्न गल्लिहरुमा उनी टाउको माथि चटपटेको टोकरी राखेर डुलाउने गर्थे । यसरी डुलाएर व्यापार गर्दा सुरु सुरुमा डेढ सय देखि २ सय को हाराहारीमा बिक्री गर्थे । उनले विगतका कुराहरु सुनाउदै गर्दा उनको अनुहारमा स्पष्ट रुपमै दु:खका भावहरु झिल्कि रहेको थियो । तिवारीले अनुहारको हाउभाउ परिवर्तन गर्दै हाँस्दै भने, “काठमाडौंको घाम पानी सबै सहियो झन्डै दस बर्ष जति त । ”

एक दशक टोकरी व्यापार गरे पछि श्रीनन्दनले सटर भाँडामा लिएर व्यापार गर्ने सोच बनाएका थिए । श्री नन्दनले आफ्नो सोचलाई साकार पनि पारे। उनले बुद्धनगरमा सटर भाडामा लिई चटपटे व्यापार सुरु गरेका थिए। तिवारीले चटपटे व्यापार मात्रै गरेको ३५ वर्ष नागिसकेको छ।

कति कति मा बेच्छन त तिवारीले चटपटे पानिपुरी ?

तिवारीको पसलमा चटपटेर पानीपुरी बाहेक पनि अन्य धेरै खानेकुराहरू पाइन्छन् । उनको पसलमा दहीपुरी प्लेटको ८०मा पाइन्छ । त्यस्तै पापरीचाट पनि प्लेटको ८० रुपैयाँमा पाइन्छ। चाँउचाँउ हालेको चटपटे भने उनले ६० रुपैयाँमा बेच्ने गरेका छन्। त्यस्तै उनले चाउचाउ साँदेर पनि ६० रुपैयाँमा नै बेच्ने गरेका छन्। पानीपुरी प्लेटको ५०मा बेच्छन् भने आलुनिम्की प्लेटको ७०रुपैयाँमा बेच्छन्।

को को छन् त तिवारीको घरपरिवारमा र केके गर्दै छन् ?

२०५५ सालमा उनको उषा कुमारी तिवारीसँग मागी विवाह भयो। उनीहरूको एक छोरी र दुई छोरा छन्। जेठी छोरी प्रतिक्षा तिवारी १२ कक्षा सकाएर नर्सिङको तयारी गर्दै छन्। जेठा छोरा ब्रिज तिवारी कक्षा १२ मा लिभरपुल कलेजमा पढिरहेका छन् भने कान्छा छोरा आदित्य तिवारी रत्नराज्य स्कुलमा कक्षा ९ मा अध्ययनरत छन् ।

तिवारीको सह- परिवार नै मिलेर चटपटे व्यापार गर्छन् । उनका छोराले पनि कलेज पश्चात उनलाई चटपटे व्यापारमा सघाउने गरेको तिवारी बताउँछन् । तिवारी सकेसम्म मौलिक तरिकाले चटपटे बनाउने भएकाले उनले पसल अपरान्न १२ बजे मात्रै खोल्ने गरेका छन्। उनको पसलमा स्कुल,कलेज पढ्ने विद्यार्थी लगायत विभिन्न मानिसहरुको भिडभाड लाग्ने गरेको देखिन्छ । उनले दैनिक ५ हजार देखि ८ हजार सम्म व्यापार गर्ने गरेको बताउँछन्।

कोराना लहर भन्दा अघि उनले एकजना कर्मचारी पनि राखेका थिए। कोभिडपछि भने उनीहरू सहपरिवार मिलेर काम गर्ने गरेका छन्। तिवारीलाई उनको श्रीमतीले सघाउन थालेको करिब आठ वर्ष भएको तिवारी बताउँछन्। उनको जेठो छोराले भने दुई वर्षदेखि उनलाई सघाइरहेका छन्। संघर्षमय जीवन बिताएका तिवारीले चटपटे व्यापारबाटै मनज्ञ आम्दानी गरेका छन्।

उनले रौतहटको चन्द्रनिगापुरमा मात्रै दुईवटा पक्की घर बनाएका छन्। जुन घर उनले भाडामा लगाएको तिवारी बताउँछन्। त्यति मात्र नभएर उनले काठमाडौँको चौभारमा चार आना जग्गा पनि जोडेका छन्। घरपरिवार चलाउनेदेखि छोराछोरी पढाउनेसम्मको खर्च उनले चटपटे व्यापारबाट नै जुटाएका हुन् ।

राम्रोसँग चटपटे व्यापार चलाइरहेका तीवारीको जीवनमा आपतविपत भने नआएको होइन। उनले चटपटे व्यापार गरेर कमाएको दुई लाख ५० हजार रुपैयाँ मध्य बिन्दु सहकारी संस्थाले ठगी गरेको बताउँछन्। उनले आफ्नो न्यायको लागि धेरै ठाउँ उजुरी दिन्छन् अन्तत उनी निराश हुँदै फर्किनु पर्छ । संघर्ष गरेर कमाएको पैसा गुमाउँनु परेको पीडा तिवारीको आँखाले बताइरहेको थियो। ती सबै घटनाहरूलाई माया मारेर मैले आफ्नो पेशालाई निरन्तरता दिइरहे। “धेरै ठाउँ उजुरी गर्दा पनि पैसा पाउने छाटकाट नदेखिएपछि मैले त्यो पैसा माया मार्नु नै पर्यो”, उनले भने।

ग्राहकहरूले उनलाई मुस्कान दाइ, अन्कल भनेर चिन्ने गर्छन्। तपाईँको नाम त श्रीनन्दन तिवारी हो। किन तपाईँलाई सबैले मुस्कान भन्ने गर्छन् भनि सोध्दा उनी बताउँछन् ,”मलाई पसलमा सबैले मुस्कान भन्ने भएकाले बोर्ड बनाउने ले पनि मुस्कान चटपटे भनेर नाम राखेको दिए । यसको कारण झन् सबैले मलाई मुस्कान भन्न थाले ।”

तिवारीले कोठा भाडा र पसल भाडा गरेर मासिक १५ हजार बुझाउने गर्छन् । छोराछोरी पढाउने कोठा भाडा र पसल भाडा तिर्ने सम्पूर्ण आम्दानीको स्रोत भनेको उनको चटपटे व्यापार नै हो। तिवारीसँग ३५ वर्षभन्दा बढी चटपटे व्यापारसँग सम्बन्धित अनुभव छ। यसैकारण पनि उनको पसलमा अनमनगर लगायत विभिन्न ठाउँदेखि चटपटे खानकै लागि आउने गर्छन्। त्यसैमाथि उनको हसिलो तरिकाले व्यापार गर्ने शैलीले पनि ग्राहकहरूको मन जितिरहेको छ।

अहिले, श्रीनन्दन तिवारी आफ्नो व्यापारमा सफलतासाथ अगाडि बढिरहेका छन् । उनले पाएको सफलता अब केवल उनको आफ्नै मात्र होइन, उनका परिवार र समुदायको पनि गौरव हो। देशमा केही गर्न सकिन्न भन्दै पैसा कमाउनको लागि वैदेशिक यात्रा रोज्ने युवाहरूको लागि प्रेरणाको स्रोत बनेका छन् तिवारी । सङ्घर्ष गर्न सके र कामलाई निरन्तरता दिन सके सफलता प्राप्त गर्न सकिन्छ भन्ने तिवारीको जीवनबाट पाठ सिक्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij