ई-आर्थिक, काठमाडौं । दुई विद्युतीय आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) बनाइने भएको छ । विद्युतीय आयोजनाहरुमा किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा बनाइने भएको हो ।
आयोजनाको लागत ५ खर्ब ५३ अर्ब रुपैयाँ लागतमा हुने छ ।
विद्युत् उत्पादन कम्पनी लिमिटेडले यी दुई आयोजनाका लागि वित्तीय लगानी आह्वान गर्दै आशयपत्र मागेको छ । कम्पनीका अनुसार दुई आयोजनामा पीपीपी ढाँचामा लगानी जुटाउने प्रक्रिया अगाडि बढेको छ ।
किमाथांका अरुणको क्षमता ४ सय ५४ मेगावाट हो । यसको लागत ९३ अर्ब ८० करोड अनुमान गरिएको छ । मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको क्षमता १ हजार ९ सय २ मेगावाट हो । जसको लागत ४ खर्ब ६० अर्ब रुपैयाँ हुने अनुमान छ ।
कम्पनीले १५ दिनभित्र प्रस्ताव पेस गर्न भन्दै आइतबार सूचना जारी गरेको छ ।