ई-आर्थिक, खुर्कोट । नेपाली सेनाले सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने सुनकोशी नदीमाथिको बेली पुल निर्माण सम्पन्न गरेको छ ।
गत असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले मोटरेबल पुल बगाएको थियो । सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका –६ सेलेघाट जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको बेलिब्रिज आजबाट सञ्चालनमा आएको नेपाली सेनाले जनाएको छ ।
खुर्कोट–मन्थली सडक अन्तर्गत उक्त पुलको आधा भाग (रामेछाप जिल्लातर्फको) असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले बगाएपछि नेपाली सेनाको प्राविधिक टोलीले त्यहाँ असोज २० गतेदेखि बेलिब्रिज निर्माण (जडान) सुरु गरेको थियो । सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका अनुसार प्राविधिक स्टिमेटअनुसार उक्त पुलको भारबहन क्षमता २२ टन भए पनि हाल १५ टन क्षमताको सवारी साधन मात्र आवतजावत गर्न पाउने बताउएको छ । कार्यालयका अनुसार पुलको भारबहन क्षमता जाँच गरेपछि आजबाट सार्वजनिक यातायात सञ्चालन गर्न छोडेको बताएको छ ।
एसियाली विकास बैंकको १७ करोड रुपियाँभन्दा बढी सहयोगमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाले सुनकोशी नदीमा दुई वटा स्पानको सो पुल आर्थिक वर्ष २०७१–७२ मा निर्माण गरेको थियो ।
रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका केही भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्यपहाडी राजमार्गका लागि खुर्कोटस्थित सुनकोशी नदीको पुल वरदान सावित भएको स्थानीयले बताएका छन् । पुल निर्माणसँगै रामेछाप र दोलखा जिल्लाको खुर्कोटस्थित बीपी राजमार्गसँगको सम्पर्क जोडिएको छ छ ।

