२०८३ साउन १२ मंगलबार

भारतीय अबैध माछाको कारण नेपाली किसान मारमा

ई आर्थिक    सोमबार, चैत्र १२ २०८०
8.8K
Shares
भारतीय अबैध माछाको कारण नेपाली किसान मारमा

ई–आर्थिक, काठमाडौं । भारतीय बैखी माछाको अवैध आयात नियन्त्रण नहुँदा नेपाली माछा किसान मारमा परेका छन् । नेपाल भारत खुला सीमावर्ती क्षेत्रको बाटो हुँदै अवैध रूपमा भारतीय बैखी माछा निर्बाध रूपमा नेपाली सीमावर्ती बजारमा बिक्रीवितरण हुँदै आएको छ । भारतीय माछा नेपाली बजारमा बिक्री हुँदा नेपाली माछा किसानलाई मर्का परेको माछा किसानको गुनासो छ ।

दुई महिनाअघि इलाका प्रहरी कार्यालय बुटवलले नेपालमा प्रतिबन्धित बैखी जातका माछा बरामद गरी नष्ट गरे पनि तीन दिनअघि समेत जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लुम्बिनी क्षेत्रीबाट बैखी माछा बरामद गरी नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–५, हाटबजार लाइनबाट गत माघ ५ गते भन्सार छलेर नेपाल भित्र्याइएको दुई हजार केजी माछा बरामद गरी नष्ट गरेको थियो । प्रहरी प्रशासनले भारतीय माछा नेपाल ल्याउन कडाइ गरे पनि अवैध बाटो हुँदै नेपाली बजारसम्म आउने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता मनोहरप्रसाद भट्टले तीन दिनअघि लुम्बिनीको ककरहवा नाका क्षेत्रबाट भारतबाट अवैध बाटो हुँदै नेपाल ल्याउँदै गरेको ४० किलो बैखी माछा बरामद गरी नष्ट गरिएको बताउनुभयो ।

बैखी माछा स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै नखान चिकित्सकले आग्रह गर्दै आएका छन् । हेर्दा आकर्षक देखिने बैखी माछा नेपालका बजारमा भने निर्बाध बिक्री हुँदै आएको छ ।

भारतबाट अवैध रूपमा माछा आउन थालेपछि नेपाली माछा किसानको आग्रहमा प्रहरीले चेकजाँच बढाएर माछा आयातमा कडाइ गरे पनि नेपाली बजारमा भने बैखी जातको माछा बिक्री हुँदै आएको छ । जिप्रका रुपन्देहीका प्रवक्ता डिएसपी भट्टले खास गरी रातिको समयमा भारतीय माछाको नेपालतर्फ अवैध रूपमा आयात हुने गरेको बताउनुभयो । बैखी चोपिलो हुने भएकाले खास गरी नेपाल–भारत सीमावर्ती नेपाली बजारमा उपभोक्ताले सबैभन्दा बढी रुचाएको माछामा पर्छ ।

सीमावर्ती क्षेत्रका नेपाली माछापालक किसानले भारतीय माछाको अवैध आयातले आफूहरूको माछा बिक्री नहुने समस्या रहेकाले मर्कामा परेको बताउने गरेका छन् । रुपन्देहीका माछा गाउँ भनेर चिनिने छपियाका माछा किसान कृष्ण भुसालले माछा बिक्री हुने जाडोको समयमै भारतबाट अवैध रूपमा माछा आयात हुँदा नेपाली माछा बिक्रीमा ह्रास आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij