काठमाडौं : हंगेरी, दक्षिण कोरिया र पोर्चुगलमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेकोे छ । रौतहट माधव नारायण नगरपालिका वडा नं. ३ घर भइ हाल काठमाडौं वडा नं. १४ कुलेश्वर बस्ने चन्दन कुमार श्रेष्ठले अभिषेक रावललाई वैदेशिक रोजगारीका लागि हंगेरी पठाइदिन्छु भनि ठगी गरेको उजुरीमा प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले रावललाई हंगेरी पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङको काम लगाइदिन्छु, मासिक १ लाख २० हजार रुपैयाँ तलब हुन्छ भनि विश्वास दिलाइ पटक–पटक गरी २ लाख ७४ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भइ ठगी गरेको उजुरी परेको प्रहरीले बताएको छ । प्रहरीले श्रेष्ठलाई कुलेश्वरबाट पक्राउ गरेको हो ।
त्यस्तै वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भनि ठगी गरेको उजुरीका आधारमा प्रहरीले गोरखाको गोरखा नगरपालिका वडा नं. १४ घर भइ हाल काठमाडौंको सामाखुसी बस्ने बाबुराम थापालाई पनि पक्राउ गरेको छ । थापाले अमिर तामाङसमेत ३ जनालाई वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिने र प्रतिव्यक्ति ७ लाख ५० हजार रुपैयाँ लाग्ने बताएर पीडितहरुबाट पटक–पटक गरी ९ लाख रुपैयाँ लिएको प्रहरीले बताएको छ ।
थापाले दक्षिण कोरिया पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा मासिक २ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भनि विश्वास दिलाइ उक्त रकम लिएको खुलेको प्रहरीले बताएको छ । थापालाई प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो ।
त्यसैगरी पोर्चुगल पठाइदिन्छु भनि ठगी गरेको उजुरीका आधारमा प्रहरीले सिन्धुपाल्चोक लिसंखुपाखर घर भइ हाल काठमाडौंको मित्रनगर बस्ने टिका बहादुर भण्डारीलाई पनि पक्राउ गरेकोे छ । भण्डारीले टोपेन्द्र घर्तीसमेत २ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्छ भनि १७ लाख ६० हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएको प्रहरीले बताएको छ ।
भण्डारीले पोर्चुगल पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुने काम लाइदिन्छु भनि विश्वास दिलाइ उक्त रकम लिएको देखिएको प्रहरीले बताएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।