२०८३ साउन ९ शनिबार

चिरख्वा हाइड्रोपावरले २८ गतेदेखि आईपीओ निष्काशन गर्ने

ई आर्थिक    आइतबार, साउन २१ २०८०
3.7K
Shares
चिरख्वा हाइड्रोपावरले २८ गतेदेखि आईपीओ निष्काशन गर्ने

ई–आर्थिक, काठमाडौं । चिरख्वा हाइड्रोपावरले साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको प्रतिसेयर अंकित मुल्य १०० रुपैयाँ दरका ४ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । कम्पनीको सो सेयरका लागि भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ८० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा भदौ १० गते हुनेछ भने ढिलोमा भदौ २५ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने भदौ १० गतेभित्र आवेदन दिनु पर्नेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij