२०८३ साउन २० बुधबार

पर्वतमा एक वर्षमा ६० साना सिँचाई आयोजना सम्पन्न, राजमार्गको नाली उपयोग प्रभावकारी देखियो

ई आर्थिक    आइतबार, असार १० २०८०
6.6K
Shares
पर्वतमा एक वर्षमा ६० साना सिँचाई आयोजना सम्पन्न, राजमार्गको नाली उपयोग प्रभावकारी देखियो

पर्वत । पर्वतमा यस वर्ष ६० साना सिँचाइका योजना सम्पन्न भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइ कार्यालय पर्वतले धानखेतीका लागि कृषकलाई सहज बनाउन ती साना सिँचाइका योजना निर्माण गरेको हो । सिँचाइको सुविधा नपुगेका सीमान्तकृत बस्तीमा प्रतियोजना रु दुई लाखका दरले ती योजना निर्माण गरिएको हो ।

कार्यालयका अनुसार सहकारी, फार्म, कृषक समूहको माग र भौगोलिक विकटता तथा आवश्यकताका आधारमा प्राथमिकता दिएर आयोजनाको छनोट गरिएको थियो । धान जोन कार्यान्वयन एकाइका निमित्त प्रमुख सुजित पौडेलले चालु आर्थिक वर्षमा रु एक करोड २० लाख लागतमा ६० योजना सम्पन्न भएर यसै वर्षदेखि कृषकले सिँचाइ सुविधा उपभोग गर्न पाएका हुन् । कार्यालयले चालु आव २०७९/८० मा सम्पन्न साना सिँचाइ आयोजनाबाट करिब एक हजार दुई सय रोपनी क्षेत्रफलमा सिँचाइको पहुँच विस्तार भएको जनाएको छ ।

तीस सेन्टिमिटर चौडाइ र एक सय मिटरभन्दा बढी लम्बाइका सिँचाइ कुलो, स–साना बस्ती, फाँट, तरकारी फार्म र कृषक समूहका लागि यस्ता योजना उपयोगी भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

किसानले पहिला खोला–खोल्साबाट कुलो बनाएर तरकारी र खेतमा सिँचाइ गर्ने गरेकामा साना सिँचाइ आयोजनाले थप सहज भएको बताएका छन् । पकुवा साना सिँचाइ आयोजनाका कृषक पदम विक र सल्यान कृषक समूहका प्रकाश पोखरेलले ठूला नहर र मुख्य पानीको स्रोत अभाव हुने स्थानमा पनि सिँचाइ गर्न सजिलो भएको बताए।

पानीको स्रोत नभएका राजमार्गको नाली उपयोग गरेर सिँचाइ गर्ने कतिपय बर्खे खोलाखोल्सीको पानी सदुपयोग गर्न पनि साना सिँचाइ आयोजना पर्वतमा प्रभावकारी देखिएका छन । साना सिँचाइ आयोजनाले पर्वतका किसानलाई धान रोप्न तथा धानको बीउ राख्न र तरकारी खेतीमा सिँचाइ गर्न सजिलो भएको छ ।

आव सकिनै लाग्दा कृषकका लागि सरकारले गरेका लगानीको स्थलगत अनुगमन तथा सामाजिक लाभको मूल्याङ्कन गर्न उक्त कार्यालयले सक्रियतासमेत देखाएको छ । पर्वतका नौ हजार ५० हेक्टर धानखेती हुने जमिनमध्ये झन्डै छ हजार हेक्टरमा स्थायी सिँचाइ सुविधा पुगेको छ । तर मौसमी पानीको स्रोत भएका ठाउँमा साना सिँचाइले टेवा पुगेको कटुवाचौपारीका कृषक सुरेश पिसीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij