२०८३ साउन ९ शनिबार

तनहुका किसानले बीमाको रकम पाएनन्, किसानहरु आन्दोलित

ई आर्थिक    सोमबार, जेष्ठ २९ २०८०
2K
Shares
तनहुका किसानले बीमाको रकम पाएनन्, किसानहरु आन्दोलित

ई–आर्थिक, तनहुँ । क्षति पुगेको बीमा रकम नपाएपछि तनहुँका पीडित किसान आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सदरमुकाम दमौलीमा विरोध प्रदर्शन गर्दै बीमा क्षतिको रकम उपलब्ध गराउने व्यवस्था मिलाइ दिन माग राखेका छन् ।

नेपाल व्यावसायिक बाख्रा पालक महासङ्घ तनहुँमा आबद्ध किसानले आइतबार प्रदर्शन गरेका हुन् । विदेशी खसी बोका र खाद्यान्न आयात बन्द गर, कृषि र पशुपक्षीजन्य उत्पादनको बजार सुनिश्चित गर, बिमाको भुक्तानी समयमै दे, किसानमैत्री बिमा नीति लागू गर, किसानको समस्या समाधान गर, सबै उमेर र अवस्थाका पशुपक्षीको बिमा गर लगायतका माग राखेर किसानले पर्दशन गरेका हुन् । पटक पटक माग गर्दा पनि बिमा रकम नपाउने र बीमा गर्न पनि नमान्ने भएकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बाख्रा पालक किसानको दुखेसो छ । उनीहरूले माग नभए सडक आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

सरकारले बीमा कम्पनीलाई दिनु पर्ने भुक्तानी समयमा नदिएको भन्दै बिमा कम्पनीले क्षतिपूर्ति प्रदान नगरेकोले आन्दोलनमा उत्रिनु परेको नेपाल व्यावसायिक बाख्रा पालक महासङ्घ तनहुँका अध्यक्ष कुशल चन्द्र अधिकारीले बताउनुभयो । अधिकारी भन्नुहुन्छ, ‘‘तनहुँका बाख्रा पालक कृषकले करिब ८४ लाख रुपियाँ भुक्तानी पाएका छैनन् जेठ महिना दिनभित्रमा रकम प्राप्त नभए थप सशक्त रूपमा चरणबद्ध आन्दोलन गर्छौँ ।’’ नेपाल सरकारबाट पाउनु पर्ने बिमाको प्रिमियम शुल्क बापतको रकम नपाएको भन्दै बिमा बिमा कम्पनीहरूले पशुपक्षी तथा कृषि बालीको बीमा गर्ने र बिमाको दाबी भुक्तानी दिने दुवै कार्य बन्द गरेकोले कृषक मर्कामा परेको अधिकारीले बताउनुभयो ।

बीमा कम्पनीको यस्तो कार्यबाट पशुधन तथा कृषि बालीको बिमा हुन नसकी समग्र कृषि तथा पशु कृषि तथा पशुपालन व्यवसाय आर्थिक रूपमा असुरक्षित हुनु परेकोले आन्दोलनमा उत्रिनु परेको महासङ्घका सदस्य चेतबहादुर थापाले बताउनुभयो ।

ज्ञापन पत्रमा बिमा कम्पनीहरूले बिमा गर्ने र दाबी भुक्तानी दिने कार्य बन्द गर्नु पूर्व नै विभिन्न माध्यमबाट सरकारी निकायहरूमा अनुरोध गरेको तथा सचेत गराएको भए पनि सोको सुनुवाइ नभएकोले आन्दोलनमा उत्रिनु परेको महासङ्घले जनाएको छ । किसानको बीमा रकम तत्काल उपलब्ध गराउन माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र प्रदान गरेका छन् । ज्ञापन पत्रमा नेपाल सरकारले बीमा कम्पनीहरूलाई दिनु पर्ने प्रिमियम शुल्क बापतको रकम अविलम्ब भुक्तानी दिई पशुपक्षी तथा कृषि बाली बिमा गर्ने र बीमा दाबी भुक्तानी दिने कार्य सुचारु गर्ने वातावरण निर्माण गर्नको लागि माग ज्ञापन पत्रमा गरिएको छ ।

ज्ञापन पत्रमा यस्तो विषम परिस्थितिलाई गाभिरता पूर्वक लिई सङ्कटमा रहेको कृषि तथा पशुपालन पेसा व्यवसायमा थप क्षति हुन नदिन आग्रह गरिएको छ । यसै गरी किसान बचाउनका लागि यो समस्याको निराकरण गर्न प्रधानमन्त्रीबाट आवश्यक सहजीकरण र मागर्दशन हुनमा आशा एवम् विश्वास व्यक्त गर्दछौ भनी ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij