ई–आर्थिक, नवलपुर : आइमई ग्रुपले दोस्रो केवलकार सञ्चालनमा ल्याएको छ । नवलपुरको गैँडाकोटको प्रसिद्ध धार्मीक स्थल मौलाकालिकालाई लक्षित गरेर बैशाख १ गतेदेखि ग्रुपले मौलाकाली केवलकार व्यवसायिक रुपमा सञ्चालनमा ल्याएको हो । नयाँवर्षको अवसर पारेर सेवा शुरु गरिएको मौलाकाली केवलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेक बिक्रम शाहले जानकारी दिए ।
एक अर्ब भन्दा बढी लगानी रहेको केवलकारमा ५१ प्रतिशत आइमई ग्रुप र ४९ प्रतिशत स्थानीयवासीको लगानी रहेको छ । दुई किलोमिटर लामो रहेको केवलकारको सम्पूर्ण संरचना कम्पनीले १३ महिनामा नै तयार गरेर सञ्चालनमा ल्याउन सफल भएको हो । गैंडाकोट मौलाकालिका मन्दिर धारापानी फेदीको स्टेशनबाट मन्दिरसम्म ५ मिनेटमा नै पुग्न सकिन्छ । केवलकारमा १२ वटा बक्स छन भने पाँच सय ५० रुपैयाँ दुईतर्फी शुल्क कायम गरिएको छ ।
केवलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं. ६ निवासी एकसय वर्षीया वृद्धा सरस्वती कंडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका थिए । शाहका अनुसार केवलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरुको लागि ४१५, जेष्ठ नागरिकहरुको लागि ४१५ र फरक क्षमता भएकाहरुको लागि २७५ रुपैयाँको टिकट दर राखिएको छ । केवलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ । केवलकारको टिकट आइएमई पे बाट पनि काट्न सकिने व्यवस्था गर्न लागिएको कम्पनीले जनाएको छ ।
केवलकार क्षेत्रमा चन्द्रागिरि केवलकार सञ्चालनमा ल्याएको आइएमई ग्रुपले मौलाकाली दोस्रो प्रोजेक्टको रुपमा ल्याएको हो । त्यस्तै आइएमई ग्रुप, शर्मा एण्ड कम्पनी, अम्बिकाप्रसाद पौडेल, चन्द्रागिरि हिल्स र हाथवे इन्भेस्टमेन्ट लगायतको लगानी रहेको लुम्बिनी केवलकार आगामी दुई महिनामा सञ्चालनमा आउने भएको छ ।
बुटवल–३ बमघाटमा मुख्य स्टेशन निर्माण गरेर पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुर डाँडामा अर्को स्टेशन रहने छ । बसन्तपुर डाँडामा आधुनिक होटेल र पार्क समेत निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ३ किलोमिटर लम्बाई रहने सो केबलकार निर्माणमा साढे तीन अर्ब भन्दा धेरै लगानी भएको जनाइएको छ ।