२०८३ साउन २२ शुक्रबार

नवनियुक्त कार्यकारी निर्देशक शाहलाई ग्यास आपूर्ति सहज बनाउन मन्त्रीको निर्देशन

ई आर्थिक    शुक्रबार, साउन २२ २०८३
95
Shares
नवनियुक्त कार्यकारी निर्देशक शाहलाई ग्यास आपूर्ति सहज बनाउन मन्त्रीको निर्देशन

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र शाहलाई देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान गर्न प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभएको छ।

आज सपथ ग्रहण गरी पदबहाली गरेका कार्यकारी निर्देशक शाहसँग मन्त्रालयमा भएको भेटवार्ताका क्रममा मन्त्री यादवले उपभोक्ताले ग्यास अभावका कारण कुनै पनि सास्ती भोग्न नपर्ने वातावरण सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्न आग्रह गर्नुभएको हो। उहाँले ग्यास आपूर्ति व्यवस्थालाई नियमित, सहज र प्रभावकारी बनाउन नेपाल आयल निगमले उच्च प्राथमिकताका साथ काम गर्नुपर्ने बताउनुभयो।

भेटका क्रममा मन्त्री यादवले दैलेखमा रहेको प्राकृतिक ग्यासको स्रोतलाई शीघ्र उत्खनन गरी व्यावसायिक उत्पादनमा लैजान र त्यसको प्रभावकारी बजारीकरणको प्रक्रिया अघि बढाउन पनि निर्देशन दिनुभयो। स्वदेशी प्राकृतिक स्रोतको अधिकतम उपयोगमार्फत ऊर्जा क्षेत्रमा आत्मनिर्भरता बढाउने सरकारको लक्ष्य पूरा गर्न दैलेखको प्राकृतिक ग्यास परियोजनालाई तीव्र गतिमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।

 

उहाँले नवनियुक्त कार्यकारी निर्देशक शाहलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल आयल निगमभित्र आन्तरिक सुशासन सुदृढ गर्न, संस्थागत पारदर्शिता र उत्तरदायित्व बढाउन तथा निगमप्रति जनविश्वास अभिवृद्धि हुने गरी परिणाममुखी कार्यसम्पादन गर्न पनि निर्देशन दिनुभयो।

मन्त्री यादवले उपभोक्तामैत्री सेवा, सुशासन र स्वदेशी ऊर्जा स्रोतको अधिकतम उपयोगलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै निगमले त्यसअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो।

यसैबीच, आजै कार्यभार सम्हाल्नुभएका कार्यकारी निर्देशक शाहले मन्त्रालयबाट प्राप्त निर्देशनलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले एलपी ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउने, संस्थागत सुशासन सुदृढ गर्ने तथा उपभोक्ताको विश्वास कायम राख्ने गरी काम गर्ने बताउनुभएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij