काठमाडौं । नेपाल टेलिकमले कम्पनीका विभिन्न दूरसञ्चार सेवा प्रयोग गरेबापत तिर्नुपर्ने बक्यौता महशुल समयमै भुक्तानी गर्न ग्राहकलाई प्रोत्साहनस्वरूप जरिवाना छुटको व्यवस्था गरेको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता रकम २०८३ साल पुस मसान्तभित्र भुक्तानी गर्ने ग्राहकलाई सो बक्यौतामा लाग्ने जरिवाना पूर्ण रूपमा छुट दिइनेछ।
नेपाल टेलिकमले उक्त अवसरको सदुपयोग गर्न सबै सम्बन्धित ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको छ।
यसैबीच, तोकिएको अवधिभित्र पनि बक्यौता रकम नतिर्ने ग्राहकविरुद्ध असुली प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार त्यस्ता ग्राहकको नाम, ठेगाना तथा बक्यौता विवरणसहित सार्वजनिक सूचना कम्पनीको वेबसाइट र राष्ट्रिय पत्रपत्रिकामार्फत प्रकाशन गरिनेछ।
नेपाल टेलिकमका विभिन्न सेवा उपयोग गरेबापत लामो समयदेखि महशुल नतिर्ने ग्राहकलाई लक्षित गरी यो छुट योजना ल्याइएको कम्पनीको भनाइ छ। यसबाट ग्राहकले जरिवाना छुटको लाभ लिन सक्ने तथा कम्पनीले बक्यौता रकम असुल गर्न सहज हुने विश्वास गरिएको छ।
