२०८३ साउन १२ मंगलबार

नेपाल वायुसेवा निगमले काठमाडौँ–मलेसिया नियमित उडान पुनः सुरु

ई आर्थिक    शुक्रबार, चैत्र १७ २०७९
4.1K
Shares
नेपाल वायुसेवा निगमले काठमाडौँ–मलेसिया नियमित उडान पुनः सुरु

ई–आर्थिक, काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौँ–मलेसिया नियमित उडान पुनः सुरु गरेको छ । फरेन एयर अपरेटर सर्टिफिकेट (एफओसी) नवीकरणमा हुन सक्ने ढिलाइलाई ध्यानमा राखेर नेपाल नागरिक उड्डयन प्राधिकरणसँग चार्टर उडानको अनुमति मागेको निगमले पुनः नियमित उडान सुरु गरेको हो । यसअघि नियमित उडानकै समयमा र भाडामा मङ्गलबार उडान गरेको निगमले बुधबारदेखि पुनः पहिलेकै अवस्थामा नियमित उडान गर्ने अनुमति पाएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले एफओसी नवीकरणमा हुन सक्ने ढिलाइ हेरेर यात्रुको सहजताका लागि प्राधिकरणले अनुमति मागे पनि मलेसियाको नियामक निकायले एफओसी नवीकरणको काम सकेसँगै नियमित उडानको अनुमति दिएपछि पुनः पहिलेकै अवस्थामा उडान सुरु भएको बताउनुभयो।निगमले गत सोमबार प्राधिकरणलाई काठमाडौँ–मलेसिया चार्टर उडानका लागि अनुमति मागेको थियो । उहाँले भन्नुभयो, ‘मलेसियामा नियमित उडानका लागि आवश्यक अनुमतिपत्र नवीकरणको प्रक्रिया सुरु गरेर यात्रुको सुविधाका लागि चार्टर उडानको हामीले अनुमति मागेका थियौँ । उताबाट अनुमति आएसँगै निगमले नियमित उडानमार्फत नै यात्रुलाई सेवा दिन सुरु गरेको छ ।’

निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार नेपाल सरकार र मलेसिया सरकारबीच ३ अप्रिल २०१५ मा भएको द्विपक्षीय हवाई सेवा सम्झौताअनुसार पुनः उडान सुचारु भएको छ । हाल निगमले दैनिक रूपमा मलेसियाको क्वालालम्पुरमा उडान गर्दै आएको छ ।

प्राधिकरणबाट स्वीकृत भएको ग्रीष्मकालीन उडान तालिकाअनुसार निगमले काठमाडौँ–क्वालालम्पुर–काठमाडौँ रुटमा साताको पाँच र काठमाडौँ–क्वालालम्पुर–भैरहवा–काठमाडौँ रुटमा साताको दुई उडानको स्वीकृति पाएको छ। नेपाल र मलेसिया सरकारबीच भएको हवाई सेवा सम्झौताबमोजिम प्रतिहप्ता १४ वटा नियमित उडान सञ्चालन गर्न पाउने व्यवस्था रहेको छ ।

ग्रीष्मकालीन उडान तालिकामा भैरहवा–मलेसियातर्फ मङ्गलबार र शनिबार गरी सातामा दुई उडानको अनुमति पाएको निगमले सो गन्तव्यमा समेत उडान सुचारु गर्न तयारी गरिरहेको सहायक प्रवक्ता घिमिरेले बताउनुभयो । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी कामदार जाने गन्तव्य मुलुक मलेसियामा नै रहेकाले निगमका जहाज भरिभराउ भएर मलेसिया उड्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij