२०८३ साउन १३ बुधबार

विदेशी लगानीका कम्पनीले ८ महिनामा नेपालबाट लगे साढे १३ अर्ब नाफा

ई आर्थिक    शनिबार, चैत्र ४ २०७९
4.2K
Shares
विदेशी लगानीका कम्पनीले ८ महिनामा नेपालबाट लगे साढे १३ अर्ब नाफा

काठमाडौँ : चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत विदेशी लगानीका कम्पनीले करिब साढे १३ अर्ब रुपैयाँ बराबरको रकम लगेका छन् । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ बराबर लाभांश रकम फिर्ताको सिफारिस गरिएको हो ।

विभागले आठ महिनामा रोयल्टीवापत २ अर्ब ८ करोड ९३ लाख रुपैयाँ, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार भारु तथा सात हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।

विभागले फागुनमा मात्रै लाभांशवापत करिब ३ अर्ब विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले २ अर्ब ८ करोड १० लाख ८३ हजार विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीवापत फागुनमा मात्रै ३३ करोड ३० लाख ९१ हजार ५ सय ३७, २ लाख ५० हजार २४ अमेरिकी डलर, २० लाख १० हजार भारु फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ ।

शाखाका प्रमुख शङ्करसिंह धामीका अनुसार गत आवको तुलनामा चालु आवमा विदेशिने रकम बढ्ने अनुमान छ । ‘गत आवमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै विदेशिने अनुमान छ’, उनले भने । चालु आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत एक हजार ६९ जना लगानीकर्ता, १५० जना प्रतिनिधि र ३९२ जना आश्रितका लागि सिफारिस गरेको छ । फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागका अनुसार फागुनसम्म २ सय ३९ उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख लगानीको प्रतिबद्धता प्राप्त भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij