ई–आर्थिक, काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा भएको क्षतिको बिमा दाबी भुक्तानीमा समस्या नरहेको नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । विमान दुर्घटनामा जनधनको ठूलो क्षति भएकाले कम्पनीलाई दाबी भुक्तानीमा अप्ठ्यारो हुन्छ कि भन्ने चर्चा चलिरहेका बेला अध्यक्ष सिवलालले समस्या नभएको बताएका हुन् ।
यति एयरलाइन्सको बीमान गत आइतबार पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको थियो ।
‘बिमा कम्पनीका लागि त्यो रकम भुक्तानी गर्न समस्या हुँदैन,’ उनले भने, ‘बिमा कम्पनीले पुनर्बिमामार्फत् जोखिम सुरक्षण गर्ने भएकाले दाबी भुक्तानीको ठूलो भार कम्पनीलाई पर्दैन ।’ नेपाल बिमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बिहीबार निर्जीवन बिमा कम्पनीहरुसँग भएको बिमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिवलालले यस्तो बताएका हुन् ।
नेपालमा आन्तरिक विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुका आफन्तले प्रति व्यक्ति २० हजार अमेरिकी डलरका दरले बिमा क्षतिपूर्ति पाउने कानुनी व्यवस्था छ । हालको विनिमयदर अनुसार यसको रकम प्रतिव्यक्ति करिब २६ लाख रुपैयाँ बराबर हुन्छ ।
सोही कार्यक्रममा अध्यक्ष सिलवालले बिमा कम्पनीलाई जलविद्युत् लगायत ठूला आयोजनाको बिमा गर्न निर्देशन दिएका छन् । ‘जलविद्युत् लगायत ठूला किसिमका संरचनाहरुको बिमा गराउनका लागि बिमा कम्पनीहरुबाट पनि प्रयास हुनुपर्यो । कम्पनीहरुले आफूले आर्जन गरेको रकमको दुई प्रतिशत कर्मचारीहरुको क्षमता अभिवृद्धिमा खर्च गर्नुपर्यो,’ उनले भने, ‘त्यसका लागि कर्मचारीहरुले पनि व्यवस्थापनसँग माग गर्नुपर्यो, कर्मचारीहरुको दक्षतालाई सूचना प्रविधिमा आवद्ध गरी विकसित गर्नुपर्यो ।’
आगामी पाँच वर्षभित्रमा बिमा व्यवसाय दोब्बरले वृद्धि गर्ने परिकल्पनाका साथ काम गर्न अध्यक्ष सिलवालले बिमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । ‘अभिकर्ता बिमाका बारेमा राम्रोसँग बुझेको, बिमा व्यवसायका बारेमा जानकारी भएको, बिमा कम्पनीका बारेमा थाहा भएको हुनुपर्छ,’ उनले थपे, ‘बिमा अभिकर्ता बिमा कम्पनीले छान्ने भएकाले ती विषयमा कम्पनीहरुले ध्यान दिनुपर्छ, बिमा अभिकर्ताले कम्पनीलाई बजारमा स्थापित गर्न सक्नुपर्छ, कम्पनीहरुले परिमाणभन्दा गुणस्तरमा ध्यान दिनुपर्छ ।’