काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।
सहयोगले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत वितरण र पुनर्स्थापनाका कार्यहरूलाई थप प्रभावकारी बनाउन ठूलो मद्दत पुग्ने छ।
नेपाल लाइफले प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोककुल परिवारजनमा गहिरो सहानुभूति व्यक्त गरेको छ। साथै, बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।
आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्दै संकटको समयमा राज्य र समुदायसँग हातेमालो गर्न कम्पनी सधैँ प्रतिबद्ध रहेको जनाएको छ।
साथै नेपाल लाइफले सम्पूर्ण आम नागरिक, संघ-संस्था तथा निजी क्षेत्रलाई पनि आ-आफ्नो ठाउँबाट प्रभावित समुदायको राहत तथा पुनर्जीवनका लागि एकजुट भई सहयोग हात बढाउन हार्दिक आग्रह गरेको छ।