२०८३ साउन ९ शनिबार

एक तिहाइ देश आर्थिक संकटमा फस्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको चेतावनी

ई आर्थिक    मंगलबार, पौस १९ २०७९
9.1K
Shares
एक तिहाइ देश आर्थिक संकटमा फस्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको चेतावनी

वासिङ्टन : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष विश्वका एक तिहाइ देशमा आर्थिक मन्दी आउने चेतावनी दिएको छ । आईएमएकी प्रमुख क्रिस्टालिना जोर्जिभाले विश्वका एक तिहाइ देशमा यस वर्ष आर्थिक मन्दी छाउने र त्यसबाट लाखौं मानिस प्रभावित हुने बताएकी हुन् ।

विश्वका तीन प्रमुख अर्थतन्त्रहरू अमेरिका, युरोपेली संघ र चीन एकसाथ सुस्त गतिमा चलेका हुनाले त्यस्तो परिस्थिति आउने उनको भनाइ छ । अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको अन्तर्वार्तामा उनले सन् २०२२ को तुलनामा यो वर्ष थप कठिन हुने बताइन् । ‘विश्व अर्थतन्त्रको एक तिहाइमा आर्थिक मन्दी छाउने हामीले अनुमान गरेका छौं,’ जोर्जिभाले भनेकी छन्, ‘आर्थिक मन्दी नभएका देशहरूका लाखौं मानिसले पनि मन्दीकै जस्तो अवस्था महसुस गर्नेछन् ।’

अमेरिकाले मन्दी पन्छाउन सके पनि युरोपमा गम्भीर स्थिति देखापर्ने उनको भनाइ छ । कोभिडको महामारीपछि रुस–युक्रेन युद्धले अधिकांश देशको अर्थतन्त्र थिलथिलो पारेकाले युरोपेली संघको आधा हिस्सामा गम्भीर आर्थिक समस्या देखापर्ने उनले बताएकी छन् ।

शून्य कोभिड नीतिका कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्र, चीनले सन् २०२२ मा बाँकी विश्वसँग रफ्तार मिलाउन सकेको थिएन । यसले गर्दा आपूर्ति शृंखला र व्यापार तथा लगानी प्रवाहमा अवरोध सिर्जना भएको थियो । ‘चालीस वर्षमा पहिलो पटक सन् २०२२ मा चीनको आर्थिक विकास विश्व आर्थिक विकासभन्दा कम वा उही स्तरमा हुने देखिएको छ,’ जोर्जिभाले भनेकी छन्, ‘कोभिडअघि चीनले विश्व आर्थिक विकासको ३४, ३५ वा ४० प्रतिशत प्रवाह गर्थ्यो । अहिले त्यो सकिरहेको छैन ।’ समग्र एसियाली अर्थतन्त्रका लागि यो ‘तनावपूर्ण’ अवधि रहेको उनको भनाइ छ ।

आईएमएफले यो वर्ष विश्व आर्थिक विकासको दर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् २०२२ मा आर्थिक विकास दर ३.२ प्रतिशत थियो । युक्रेन युद्ध, मुद्रास्फीतिको दबाब र प्रमुख केन्द्रीय बैंकहरूले बढाएको ब्याजदरलगायतलाई मध्यनजर गर्दै आईएमएफले सन् २०२३ को आर्थिक विकासको दर प्रक्षेपण गरेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij