२०८३ साउन ९ शनिबार

स्याङ्जाका उद्योगी व्यवसायीका पाँचओटा छाता संगठनले सरकारलाई बुझाए दशबुँदे ज्ञापनपत्र

ई आर्थिक    मंगलबार, मंसिर २७ २०७९
5K
Shares
स्याङ्जाका उद्योगी व्यवसायीका पाँचओटा छाता संगठनले सरकारलाई बुझाए दशबुँदे ज्ञापनपत्र

ई–आर्थिक, स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीका पाँचओटा छाता संगठनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई दशबुँदे ज्ञापनपत्र बुझाएका छन् । संगठनहरूले इलाका प्रशासनमार्फत अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल राष्ट्र बैंकका निर्देशनहरू र चालू पूँजी मार्गदर्शन २०७९ का प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संगठनहरूले वालिङस्थित इलाका प्रशासन कार्यालयमा सोमवार ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउने व्यावसायिक संघसंगठनहरूमा वालिङ उद्योग वाणिज्य संघ, जिल्ला उद्योग वाणिज्य संघ, गल्याङ उद्योग वाणिज्य संघ, भीरकोट उद्योग वाणिज्य संघ र चापाकोट उद्योग वाणिज्य संघ रहेका छन् ।

चालू आर्थिक वर्षको शुरुआतसँगै लगानीयोग्य पूँजीको अभाव देखाउँदै बैंकको ब्याजदर निरन्तर बढाउँदा उद्योग व्यवसाय चलाउनै नसक्ने अवस्था आएको ज्ञापनपत्रमा उल्लेख छ । नेपाल सरकार, नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराउँदै उद्योगी व्यवसायीले ब्याजदरलाई एकल अंकमा झार्न माग गरेका छन् ।

अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेका बेला सबै क्षेत्रले एकअर्कालाई सहयोग गर्नुपर्नेमा बैंकहरूको ब्याजदर बढ्दा व्यावसायिक लागत प्रक्षेपण गर्न नसकिने गुनासो व्यवसायीले गरेका छन् । त्यस्तै लगानी निरुत्साहित हुनेलगायत असहज अवस्था आउन नदिन माग गरिएको छ । बढ्दो ब्याजदरले अर्थतन्त्रमा नकारात्मक असर पार्ने भन्दै व्यवसायीले यसको नियन्त्रणसहित तरलता सहज बनाउनुपर्नेमा जोड दिएका छन् ।

यस्तै ‘स्प्रेड दर’ तीन प्रतिशतभित्र राखेर जोखिमका आधारमा आधारदरमा बढीमा दुई प्रतिशत मात्र थप प्रिमियम लिन पाइने व्यवस्था हुनुपर्ने माग उद्योगी व्यवसायीले गरेका छन् । अर्थतन्त्रको अहिलेको अवस्थालाई ध्यानमा राखेर साँवा ब्याज भुक्तानी गर्ने समयावधि थप्नुपर्ने र तीन वर्षसम्म घाटा बेहोरेका उद्योग तथा प्रतिष्ठानको कर्जा सुविधा तत्काल कटौती गर्न नहुने बताइएको छ ।

उद्योगी व्यवसायीहरूले विभिन्न नारासहितको शान्तिपूर्ण र्‍याली गरेका थिए । आफूले पाएको ज्ञापनपत्र यथाशक्य छिटो सम्बन्धित निकायमा पठाइने इलाका प्रशासन कार्यालय वालिङका प्रमुख घनश्याम गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij