ई–आर्थिक, विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा हुने सातौं संस्करणको विराट एक्स्पोको तयारी पूरा भएको छ । यही मङ्सिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस परिसरमा ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनी’ हुन लागेको हो । एक्स्पोको तयारी पूरा भएको संगठनले आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ मूल नारा रहेको एक्स्पोमा ३६१ ओटा स्टल रहनेछन् । चार पेभिलियन रहने एक्स्पोमा प्रायोजकका १०, उद्योग संगठन मोरङ कार्यसमितिका ३४, औद्योगिक उत्पादनका ७५, कृषि तथा साना, घरेलु एवं सूचनामूलक ७५, अटोमोबाइलका २० र खाद्यवस्तुका १० ओटा स्टल रहने आयोजकले जानकारी दिएको छ । बाँकी स्टल विविध वस्तु तथा सेवाका रहने बताइएको छ ।
एक्स्पो अवधिभर माउन्टेन फ्लाइटको व्यवस्था समेत रहेको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । ‘विराटनगरबाट दीर्घकालीन रूपमा माउन्टेन फ्लाइटको व्यवस्था गर्न हामीले एक्स्पोमा यो प्याकेज ल्याएका हौं,’ उनले भने ।
एक्स्पोको मुख्य आकर्षण आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दामा नीतिगत छलफल, अनुभव आदानप्रदान, नवीनतम सोच भएका युवा उद्यमीका लागि ‘स्टार्टअप कर्नर’, प्रदेशको आर्थिक वृद्धि तथा लगानी सबलीकरणका लागि एशियन फाउन्डेसन र प्रदेश नागरिक विकास बोर्डसँगको सहकार्यमा लगानी सम्मेलन, प्रदेश १ मा लगानीका सम्भावना भएका वस्तुको प्रदर्शनी लगायत रहने एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।
एक्स्पोमा रोबोटसँग प्रत्यक्ष संवाद गर्ने अवसर मिल्नेछ । यस्तै थ्रीडी भर्चुअल टूरमार्फत प्रदेश १ को प्रख्यात पर्यटकीय क्षेत्रहरू सगरमाथाको आधार शिविर, गुफापोखरी, पाथीभरा मन्दिरलगायत अवलोकन गर्न सकिनेछ ।
यसबाहेक पर्यटकीय गन्तव्यको जानकारी, स्थानीय खाना उत्सव र दैनिक सांगीतिक कार्यक्रम रहेका छन् । एक्स्पोमा रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरूबीच प्रत्यक्ष भेटघाटका लागि छुट्टै पेभिलियन रहनेछ । नेपालसहित भारत, बंगलादेश, पाकिस्तानलगायत मुलुकका उत्पादनको प्रदर्शनी समेत रहने एक्स्पो आयोजनामा साढे ३ करोड रुपैयाँ खर्च हुने संयोजक दुलालले बताए ।
आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले संगठनले उक्त एक्स्पो आयोजना गरेको हो । स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै उद्योग व्यवसाय क्षेत्रको व्यावसायिक विकासमा योगदान पुर्याउन संगठनले पहिलोपटक २०५३ सालमा कोशी महोत्सव आयोजना गरेको थियो । अहिलेको विराट एक्स्पो त्यसैको परिष्कृत कार्यक्रम हो ।