ई–आर्थिक, विराटनगर । यही माघ १९ देखि २८ गतेसम्म विराटनगरमा हुने कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनी (सीएनआई एक्स्पो–२०२३) का लागि स्टल बुकिङ खुला गरिएको छ । विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा आयोजना गर्न लागिएको एक्स्पोमा तीन सय स्टल रहने बताइएको छ ।
स्टलहरू हावापानी अनुकूल हुनेगरी जडान गरिनेछन् । स्वदेशी उद्योग र उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित एक्स्पोमा मुलुकका विभिन्न उद्योगबाट उत्पादित वस्तुहरू, कृषि तथा औद्योगिक उत्पादन, विदेशमा उत्पादन हुने औद्योगिक मेशिनरीहरू प्रदर्शनी तथा विक्री वितरण गरिनेछ ।
कृषि उत्पादनका वस्तु सेवाको प्रवर्द्धन र स्थानीय उत्पादनको बजार व्यवस्थापनका लागि समेत एक्स्पो महŒवपूर्ण हुने अपेक्षा गरिएको छ । एक्स्पोमा आफ्ना उत्पादन तथा सेवाको प्रदर्शन र विक्रीका लागि उद्योगी, व्यवसायी तथा सेवा प्रदायकहरूले सम्पर्क गरी स्टलको बुकिङ गर्न सक्ने नेपाल उद्योग परिसंघ प्रदेश १ का महानिर्देशक विजयहरि शर्माले बताए ।
एक्स्पोमार्फत स्वदेशी व्यापार प्रवर्द्धनका साथै पर्यटन विकास र सम्भावनाहरूको खोजी गरिने उनले जानकारी दिए । हरेक दिन मनोरञ्जन र सांस्कृतिक कार्यक्रमहरूको ‘लाइभ कन्सर्ट’ तथा फनपार्क समेत समावेश गरिने बताइएको छ ।
एक्स्पोमा अटोमोबाइल, घरेलु उद्योग, मोबाइल तथा इलेक्ट्रोनिक उपकरण, पेन्ट्स, बेकरी, रोजगार डेस्कहरू, ‘टक शो’ तथा सेमिनारहरू, कृषिको आधुनिकीकरण, गार्मेन्ट्स, शिक्षा, स्वास्थ्य सम्बन्धी प्रदर्शनी हुने आयोजक समितिका संयोजक राजेन्द्र राठीले जानकारी दिए ।