ई–आर्थिक, वीरगन्ज । पर्साको वीरगन्जमा रहेको एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) सञ्चालनका लागि ५ कम्पनी इच्छुक देखिएका छन् । आशयपत्र दर्ता गर्ने अन्तिम दिन काठमाडौंस्थित इन्टरमोडल यातायात विकास समिति केन्द्रीय कार्यालयमा ५ कम्पनीले आशयपत्र दर्ता गराएका हुन् । तिनमा प्रिस्टिन/मेगा लजिस्टिक, ट्रान्स नेपाल, हाइवे रोड लाइन, कैलाश टर्मिनल/विन्ध्यवासिनी र एसएस टर्मिनल रहेका छन् ।
आशयपत्र दर्ता गर्ने अन्तिम दिन गएको सोमवार रहेको थियो ।
विभिन्न कम्पनीले आठ वटा फारम लगेकामा ५ वटा मात्र आशयपत्र दर्ता भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
कार्यकारी निर्देशक गजुरेलका अनुसार समितिले गठन गरेको मूल्यांकन समितिले आवश्यक मूल्यांकन समेत सुरु गरिसकेको छ । दर्ता भएका आशयपत्रका सम्बन्धमा मूल्यांकन समितिले आवश्यक काम अघि बढाइसकेको भन्दै उनले चाँडै नै सबै बिडरको उपस्थितिमा नतिजा सार्वजनिक गर्ने बताए ।
०७४ चैत २८ देखि मुलुककै पहिलो आईसीपीका रूपमा यो आईसीपी सञ्चालनमा आएको हो । हालसम्म इन्टरमोडल यातायात विकास समिति आफैंले यो आईसीपी सञ्चालन गर्दै आएको छ । अब भने निजी क्षेत्रलाई ठेक्कामा सञ्चालन गर्न दिन लागेको हो ।
भारत सरकारले नेपाल र सीमापारि भारतीय भूमिमा पनि एकैखाले संरचना भएको एकीकृत सुरक्षा जाँच चौकी निर्माण गरेको थियो । एकै छानामुनि भन्सार, आप्रवासन, क्वारेन्टाइन, सीमा सुरक्षाजस्ता संस्था ल्याएर अन्तरदेशीय आवतजावत झन्झटरहित बनाउने प्रयासस्वरुप भारतले नेपाल र आफ्नो भूमिमा समेत गरी आईसीपी निर्माण गरेको हो ।
नेपालको आधाभन्दा बढी अन्तर्राष्ट्रिय आयात निर्यात कारोबार वीरगन्ज आईसीपीबाटै हुने भएकाले यहाँ हुने पूर्वाधार तथा सुविधाले मुलुककै आयात–निर्यात व्यापारमा ठूलो महत्त्व राख्ने व्यवसायीहरुको भनाई छ ।