ई–आर्थिक, काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडको आईपीओ विक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गरेको हो ।
यो आईपीओ खरीदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरूले आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित स्थानीयहरूले यो आईपीओ खरीदका लागि छिटोमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा असोज ४ गतेसम्म विक्री खुला हुनेछ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । नागरिक लगानीकोष विक्री प्रबन्धक रहेको यो आईपीओ खरीदका लागि सनराइज क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल, साञ्जेन जलविद्युत् कम्पनीको केन्द्रीय कार्यालयसँगै नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । यसका साथै, मेरो शेयर वेवसाइट र एप मार्फत आवेदन दिन सकिनेछ ।
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतका संगठित संस्थाहरूले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ्ग नियमावलीमा भएको व्यवस्था बमेजिम क्रेडिट रेटिङ्ग गर्न नपर्ने गरी गरी कम्पनीलाई छुट प्राप्त भएको छ । यस कम्पनीमा संस्थापकतर्फ चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, नेपाल विद्युत् प्राधिकरणसहित रसुवा जिल्लाका तत्कालिन जिल्ला विकास समिति र गाउँविकास समितिहरूको लगानी रहेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गर्नु अघि सर्वसाधारणमा आईपीओ निष्कासन गरिसकेको छ । कम्पनीमा जारी पूँजीको ३९ दशमलव ३६ प्रतिशत चिलिमे जलविद्युतको, १० दशमलव ३६ प्रतिशत नेपाल विद्युत् प्राधिकरणको र १ दशमलव २८ प्रतिशत शेयर रसुवा जिल्लाका तत्कालिन जिल्ला विकास समिति र गाउँ विकास समितिहरूको शेयर स्वामित्व रहेको छ ।
स्थानीयमा शेयर विक्री तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ६५ करोड कायम हुनेछ । कम्पनीको अधिकृत पूँजी रू. ३ अ र्ब ७५ करोड र जारी पूाजी रू. ३ अर्ब ६५ करोड रहेको छ ।
कम्पनीले १४ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना गरी कुल ५७ दशमलव ३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।