२०८३ साउन ९ शनिबार

नेपाल–ब्राजिल उद्योग वाणिज्य संघमा पुनः चापागाईं निर्वाचित

ई आर्थिक    शनिबार, साउन २१ २०७९
6.4K
Shares
नेपाल–ब्राजिल उद्योग वाणिज्य संघमा पुनः चापागाईं निर्वाचित

ई–आर्थिक, काठमाडौं । नेपाल–ब्राजिल उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी अखिलकुमार चापागाईं पुनः निर्वाचित भएका छन् ।

शनिवार आठौं वार्षिक साधारण सभाले चापागाईंको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा चेङ्ग अग्रवाल र विक्रम राई तथा महासचिवमा उमेश रायमाझी, सचिवमा ज्योत्सना श्रेष्ठ र कोषाध्यक्षमा निरज तिमिल्सिना निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा जया शिवाकोटी, भरत आचार्य, शिवहरि दंगाल, प्रदीप रुंगटा, राकेशकुमार श्रेष्ठ, लवराम दाहाल र प्रेम पाण्डे निर्वाचित भएका छन् । यस्तै, संघको सल्लाहकारमा निवर्तमान उपाध्यक्ष विनय लामिछाने चयन भएका छन् भने अम्बिका शर्मा लामिछाने सदस्यमा मनोनित भएका छन् ।

कार्यक्रममा अध्यक्ष चापागाईंले नेपाल र ब्राजीलबीच द्विपक्षीय व्यापार अभिवृद्धि तथा आर्थिक सम्बन्ध विस्तारका लागि संघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा नेपालबाट ४ लाख २७ हजार डलर बराबरको वस्तु ब्राजिल निकासी भएको छ भने ब्राजिलबाट ६ करोड १० लाख डलर बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

उनले नेपाल ब्राजिलसँग ठूलो व्यापारघाटामा रहेको भन्दै नेपालबाट ब्राजिलमा निकासीको ठूलो सम्भावना रहेको र आगामी दिनमा निकासी बढाउनेतर्फ ध्यान केन्द्रित हुने पनि बताए ।

नेपालबाट हाल हस्तकलाजन्य सामग्रीसहित कार्पेट, गार्मेन्ट जस्ता वस्तु निकासी भइरहेको र आगामी दिनमा यसलाई बढाउँदै लैजाने उनको भनाइ छ । संघको नेतृत्वमा नेपाली व्यवसायीले दुई पटक ब्राजिलमा व्यावसायिक भ्रमण सम्पन्न गरिसकेको उल्लेख गर्दै अध्यक्ष चापागाईंले आउँदा दिनमा व्यावसायिक सम्बन्ध विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले आर्थिक विकासमा सशक्त रुपमा अघि बढिरहेको ब्राजिलसँग सम्बन्ध विस्तारले नेपालको आर्थिक विकासमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।

पूर्वमन्त्री थापाले ब्राजिलबाट कृषि तथा खानीजन्य क्षेत्रमा पूँजी र प्रविधि भित्र्याएर नेपालले फाइदा लिनसक्ने उल्लेख गर्दै विश्व अर्थतन्त्रको नवौं शक्तिशाली मुलुकसँगको सम्बन्ध विस्तारमा जोड दिए ।

ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले आफ्नो कार्यकालमा लगानी प्रवर्द्धन तथा नेपाली वस्तुको बजारीकरणमा जोड दिने प्रतिवद्धता जनाए । ब्राजिलबाट नेपालमा पर्यटक बढाउन पहल गर्ने उनको भनाइ छ ।

यस्तै, नेपालका लागि ब्राजिल दूतावासका मिनिष्टर कन्सुलर डेपुटी चिफ जोसे मारियो फेरिरिा फिल्होले नेपाल ब्राजिल चेम्बरको स्थापनापछि दुई मुलुकबीचको व्यापारमा उल्लेख्य वृद्धि भएको स्मरण गर्दै ब्राजिलको जलविद्युत् दक्षतालाई नेपालले पनि उपयोग गर्नसक्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij