ई–आर्थिक, काठमाडौं । विज एयरले पनि भैरहवामा उडानको लागि चासो देखाएको छ । सो एयरले यूएईको अबुधाबीबाट साताको तीन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल पब्लिकेसन इन्फर्मेसन’ जारी गरेलगत्तै प्राधिकरणको सम्पर्कमा आएको विज एयरले मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेगरी अनुमति मागेको गौतम बुद्ध विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहले बताए । युरोप तथा अफ्रिकासहित विश्वका चार देशसँग हवाई सम्बन्ध रहेको विज एयरको २३४ सिट क्षमताको जहाज नेपाल भित्रिएपछि नेपालमा युरोप र अफ्रिकी पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको प्रवक्ता शाहले बताए ।
विज एयरको एयरबस ३२१ निओ सिरिजको विमान सञ्चालनमा आएसँगै वैदेशिक रोजगारीका लागि खाडी मुलुक आउने÷जाने नेपाली र लुम्बिनी घुम्न आउने धार्मिक पर्यटकलाई आकर्षित गर्ने प्राधिकरणले विश्वास लिएको छ ।
हाल यो विमानस्थलमा एक दर्जनजति हवाई कम्पनी उडान भर्न इच्छुक देखिएका छन् । हाल सातामा तीन उडान गर्दै आएको जजिरा एयरले पनि भदौ ३० गते (सेप्टेम्बर १५)देखि नियमित दैनिक एक उडान गर्ने तयारी गरेको प्रवक्ता शाहले बताए ।
त्यस्तै हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्दै आएको एयर अरेबियाले पनि सेप्टेम्बर मध्यदेखि गौतम बुद्ध विमानस्थलमा उडान भर्नेगरी तयारी गरिरहेको उनले जानकारी दिए । नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थलमा आकर्षण बढाउन जहाज उडान तथा अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सहायक सेवा र सुरक्षा जाँच शुल्कमा एक वर्षलाई शतप्रतिशत छुट दिएको छ ।
यी सुविधासँगै उक्त नयाँ एयरपोर्टमा जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि हवाई कम्पनी सम्पर्कमा आउने क्रम बढेको प्राधिकरणको भनाई छ ।
यो विमानस्थलमा यसअघि कुवेतको जजिरा एयरवेजले सुरुदेखि नै साताको तीन उडान गर्दै आएको छ ।