ई–आर्थिक, सिन्धुपाल्चोक । मध्यभोटेकोसी जलविद्युत् आयोजनाको अन्तिम मुख्य सुरुङ (अडिट) बुधबार ‘ब्रेक थ्रु’ गरिएको छ । मध्यभोटेकोसी आयोजना भोटेकोसी नदी क्षेत्रमा निर्माणाधीन १०२ मेगावाट क्षमताको परियोजना हो ।
आयोजनाका मुख्य तीन सुरुङमध्ये हेडवर्क्सस्थलमा यसअघिदेखि बन्दै गरेको ३ हजार ६ सय ९८ मिटरको अडिट १ सुरुङ बुधबार दिउँसो छिचोलिएको हो ।
आयोजनाको अघिल्लो वर्षमा नै मुख्य सुरुङ २ र ३ ब्रेक थ्रु भइसकेको थियो, यो अन्तिम अडिट १ भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीले जानकारी दिए ।
यही ‘एचआरटी अडिट’ पनि ब्रेक थ्रु भएको र आन्तरिक तालिकाअनुरूप आवश्यक काम धमाधम गरिरहेका पनि सिवाकोटीले बताए ।
आयोजनाको पावर हाउसको अधिकांश काम धमाधम भइरहेकाले आगामी सन् २०२३ मेमा नै पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ बाँधस्थल, सुरुङ र विद्युत्गृहको काम अघि बढिरहेको उनको भनाइ छ ।