२०८३ साउन ९ शनिबार

चेक बाउन्स : चर्को ब्याजको लोभमा दिएको सापटी जोखिममा

ई आर्थिक    सोमबार, साउन ९ २०७९
8.3K
Shares
चेक बाउन्स : चर्को ब्याजको लोभमा दिएको सापटी जोखिममा

१० लाखभन्दा माथिका चेक बाउन्सका उजुरीमा स्रोत खुलाउन सके जाहेरीको पक्षमा तत्काल प्रभावकारी अनुसन्धान गर्न मातहत युनिटहरुलाई प्रहरीको निर्देशन

काठमाडौँ : काठमाडौं महाराजगन्जका रोमिलाल श्रेष्ठले आफू सञ्चालक रहेको ‘सुलक्स वाच प्रालि’ का तर्फबाट २०७८ कात्तिक १६ मा नरेश प्रधानलाई १ करोड ५० लाख रुपैयाँको चेक जारी गरे । सुरुमा रोमिलालले ऋण तिर्न आनाकानी गरेका थिए ।

विवादपछि उनले नरेशलाई इन्भेस्टमेन्ट बैंकको डेढ करोड रुपैयाँको चेक दिए । लगत्तै आफ्नो चेकबुक हराएको भन्दै नरेशका नाममा जारी भएको चेक रद्द गर्न आग्रह गर्दै बैंकमा निवेदन दिए ।

नरेश चेक लिएर बैंक पुगेपछि कर्मचारीले तत्कालै रोमिलाललाई सम्पर्क गरेर बैंकमा आउन आग्रह गरे । चेकमा रोमिलालले गरेको हस्ताक्षर मिलेन भने त्यसमा उल्लेख गरेअनुरूप पर्याप्त रकम पनि खातामा थिएन । त्यतिबेलासम्म रोमिलाल सम्पर्कविहीन भइसकेका थिए । यता नरेशले दोस्रो पटक बैंकमा गएर पुनः चेक बाउन्स गराए । दोस्रो पटक बाउन्स गराउँदा ‘चेक स्टप’ उल्लेख गरियो । तेस्रो पटक गएर चेक बाउन्स गराएका नरेशलाई बैंकले ‘चेक स्टप’ र हस्ताक्षर नमिलेको कारण देखायो ।

नरेशले त्यसपछि रकम ठगी र चेक बाउन्सको कसुरमा रोमिलालविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दिए । त्यसकै आधारमा परिसरले रोमिलाललाई पक्राउ गर्न उच्च अदालत पाटनबाट २०७९ वैशाख ८ मा पुर्जी ल्यायो तर रोमिलाल प्रहरीका उच्च अधिकारीलाई समेत प्रभावमा पारी पक्राउ हुनबाट जोगिने खेलमा लागे । त्यही खेलमा रोमिलालले आफूविरुद्ध जारी पक्राउ पुर्जी बदरको माग गर्दै काठमाडौं परिसर र जाहेरीकर्ता नरेशविरुद्ध पाटन उच्च अदालतमा निवेदन दिए । जुन निवेदन आफूले नरेशबाट लिएको पैसा नतिर्ने योजनाअन्तर्गत थियो । तर, पाटन अदालतले असार १७ मा रोमिलालको उजुरीमा आदेश दिँदै त्यसअघि जारी पक्राउ पुर्जीअनुरूप नै मुद्दाको अनुसन्धान गर्न प्रहरीलाई बाटो खोलिदियो । पाटन अदालतको आदेशमा भनिएको छ, ‘२०७९ वैशाख ८ मा पक्राउ अनुमतिसमेत जारी भइसकेको अवस्थामा साधिकार निकायबाट हुने फौजदारी मुद्दाको अनुसन्धान कार्यलाई असर हुने गरी निवेदन मागबमोजिम आदेश जारी गरिरहन परेन, कानुनबमोजिम गर्नू ।’

रोमिलाल सम्पर्कविहीन भइसकेका छन् तर उनको खोजी गरी कारबाहीको दायरामा ल्याउन भने प्रहरीले रुचि देखाएको छैन । यो अनुसन्धानमा काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय जुटे पनि उनी अझै फेला परेका छैनन् । अरूबाट ऋण लिएर पनि रोमिलालले उल्टै पीडित बनेका व्यक्तिविरुद्ध नै मुद्दा हालेर ऋण पचाउन गरेको यो उदाहरण चेक बाउन्स ठगीमा अपनाएको नयाँ शैली भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत बताउँछन् । नरेश भने आफूले विश्वासमा परेर पैसा दिएको तर अहिले आफैंलाई फसाउन रोमिलालले अनेक चालबाजी गरेको बताउँछन् । ‘कोभिडका कारण व्यापार–व्यवसाय संकटमा पर्‍यो, पैसा सापटी दिनुपर्‍यो भनेर विश्वास दिलाएपछि पटक–पटक गरी दिएको थिएँ । अरू पैसा पाए पनि बाँकी डेढ करोड फिर्ता गर्ने बेला उल्टै हामीलाई गल्ती देखाउन चालबाजी गरे,’ नरेशले भने ।

सापटी दिएको पैसा फिर्ता नपाएपछि प्रहरी र अदालतसम्म पुग्ने नरेशजस्ता पीडितको संख्या बढ्दो क्रममा रहेको नेपाल प्रहरीको अभिलेखमा देखिन्छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७४/७५ यताको ५ वर्षमा चेक बाउन्स र बैंकिङ कसुरसँग सम्बन्धित अपराधको संख्यामात्रै १४ हजार २ सय १५ छ । यी मुद्दा २ अर्बभन्दा बढीको आर्थिक कारोबारसँग सम्बन्धित रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । त्यसमध्ये उपत्यकाका तीन जिल्लामा मात्रै बैंकिङ/चेक बाउन्सका अपराधको संख्या ११ हजारभन्दा बढी छ । यो संख्या कुल जाहेरीको ८० प्रतिशतभन्दा बढी हो । कतिपय पीडित भने सम्पत्तिको स्रोत देखाउन नसकेर प्रहरी र अदालत जाँदैनन् । प्रहरीले आफूबाट आर्थिक लाभ लिएर आरोपितबाट पैसा उठाइदिने गरेको पनि कतिपय पीडितको गुनासो छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले चेक बाउन्सका अपराध बढ्दो क्रममा रहेको बताए । आर्थिक प्रलोभन र छिट्टै पैसा कमाउने लोभमा यस्ता अपराधले प्रश्रय पाइरहेको उनको तर्क छ । राईका अनुसार प्रहरी प्रधान कार्यालयले देशभरिका मुद्दा चलाउने युनिटलाई विशेष निर्देशन दिँदै १० लाखभन्दा माथिका चेक बाउन्सका उजुरीलाई सम्पत्तिको स्रोत खुलाएको अवस्थामा गम्भीर अनुसन्धान गर्न निर्देशन दिइएको छ । ‘चेक बाउन्सका उजुरी बढ्दो क्रममा छ, अपराध अनुसन्धान, नियन्त्रण र नियमित शान्ति सुरक्षामा लाग्नुपर्ने स्थिति छ, त्यसलाई समेत मध्यनजर गरेर १० लाखभन्दा माथिका चेक बाउन्सका उजुरीमा स्रोत खुलाउन सके जाहेरीको पक्षमा तत्काल प्रभावकारी अनुसन्धान गर्ने गरी काम गर्न मातहत युनिटहरूलाई मौखिक रूपमा निर्देशन दिइएको छ,’ प्रवक्ता राईले भने ।

देशभर बैंकिङ कसुरका कुल उजुरीमध्ये चेक बाउन्सको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको काठमाडौं परिसरका एक अधिकृत बताउँछन् । प्रहरीका अनुसार आव २०७४/७५ मा ७ सय ७६ वटा उजुरी बैंकिङ कसुरसँग सम्बन्धित रहेकामा अर्को वर्ष यस्ता उजुरीको संख्या करिब ४ गुणाले बढेर ३ हजार १ सय ६७ पुग्यो । आव २०७५/७६ मा यस्ता उजुरी ३ हजार ३ सय ९ पुग्यो । यो संख्या आव २०७७/७८ मा १ हजारले कम अर्थात् २ हजार ३ सय ७३ रहेकामा २०७८/७९ मा दोब्बरले बढेर अपराध संख्या ४ हजार ५ सय ९० पुगेको प्रहरीको तथ्यांकमा देखिन्छ ।

काठमाडौं परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले पछिल्ला दिन प्रहरीमा समस्या लिएर आउनेमध्ये चेक बाउन्स ठगीसँग सम्बन्धित धेरै रहेको बताए । छिट्टै सम्पत्ति कमाउने लोभमा चेकलाई मानिसले खेलाँचीका रूपमा लिने गरेको र आपसी लेनदेन विवादका रूपमा प्रवेश गरेपछि त्यही खेलाँचीका कारण थुप्रै मानिस जेलमा पुग्नेदेखि कतिको घरबार नै उठीबास हुनेसम्मका प्रवृत्ति देखा परेको बताए ।

‘सामान्य, मध्यम र हुने खाने सबैले चेकलाई खोलाँचीका रूपमा लिए । कतिले सजिलै सम्पत्ति आर्जन गर्ने माध्यमका रूपमा महँगो ब्याजमा रकम लिने र पैसा फिर्ता गर्ने ग्यारेन्टीका रूपमा अर्को पक्षलाई खाली चेक हस्ताक्षर गरेर दिन थाले, पछि त्यही चेक गलपासो बनेर आएको देखिन्छ,’ एसपी मैनालीले कान्तिपुरसँग भने, ‘कतिले तत्कालको गर्जो टार्न जतिसुकै महँगो ब्याजमा रकम लिने र ग्यारेन्टी पेपरका रूपमा खाली चेक दिँदा पनि समस्या निम्तिएको देखिन्छ ।’ पछिल्लो पटक परिसरमा परेको डेढ करोड ठगीको जाहेरी पनि त्यस्तै प्रकृतिको रहेको उनले बताए । आव २०७८/७९ को अवधिमा काठमाडौं परिसर र मातहत प्रहरी वृत्तमा मात्रै ३ हजार ६ सय ३१ वटा जाहेरी दर्ता गरी अदालतसम्म पुगेको देखिन्छ । यसमा ५ हजार ७ सय ७६ वटा उजुरी आए पनि कतिपयले उजुरी परे पनि विवाद मिलाएको देखिन्छ । ललितपुर प्रहरीमा पनि गएको आव चेक बाउन्सका १ सय ५५ वटा मुद्दा दर्ता भएकामा ३७ करोडभन्दा बढीको बिगो मागदाबी गरिएको छ ।

पाटन उच्च अदालतमा प्रत्येक दिन सुनुवाइका लागि चढेका पेसीमध्ये खातामा पर्याप्त रकम नभई चेक काटी बैंकिङ कसुर गरेको कसुरका मुद्दा मात्रै कुनै दिन त १ सयको हाराहारी देखिन्छ । दैनिकजसो चेक बाउन्सका सरदर ४० देखि ५० वटा पेसी चढेको देखिन्छ । २०७९ असार १४ देखि २० गतेको एक साताको पेसी केलाउँदा दैनिकजसो चेक बाउन्सका कसुरसँग सम्बन्धितको संख्या अधिक छ । त्यसयताका पेसीमा पनि चेक बाउन्सको हिस्सा ठूलो छ । असार २० मा पाटन उच्च अदालतमा ३ सय ५२ पेसी तोकिएकामा चेक बाउन्सका मात्रै ५३ वटा थिए । असार १९ मा ३ सय ५५ वटा पेसी तोकिएकामा चेक बाउन्सका ९३, असार १६ मा २ सय १४ पेसीमा चेक बाउन्सका २६, असार १४ मा २ सय ४ पेसीमा चेक बाउन्सका २३ र असार १४ मा ३ सय ४७ पेसीमा चेक बाउन्सका मात्रै ७७ वटा छन् ।

कोभिडका कारण निम्तिएको आर्थिक संकटले चेक बाउन्सका कसुर झनै बढेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । २०७६ वैशाखयता लकडाउन र त्यसबाट सिर्जित आर्थिक संकटले पनि यो अवधिमा रकम लिने, तोकिएको मिति उल्लेख गरेर चेक काट्ने तर खातामा पैसा नभएपछि प्रहरी हुँदै अदालतसम्म विवाद पुग्ने गरेको ती अधिकृतको बुझाइ छ । चेक बाउन्सबाट सिर्जित अपराध बढ्नुको मुख्य कारण चर्को ब्याजमा ऋण दिने र ऋण लैजानेले समयमै फिर्ता नगर्ने अनि पछि गएर दुई पक्षबीच वादी/प्रतिवादीका रूपमा अदालतमा पुग्ने गरेको देखिन्छ ।

काठमाडौं परिसरका प्रवक्ता मैनाली आर्थिक अभाव टार्न साहुका जस्तासुकै सर्त मान्ने, खाली चेक हस्ताक्षर गरेर दिने अनि पछि समस्यामा परें भन्दै प्रहरीमा आउने प्रवृत्ति देखिएको बताएको समाचार मातृका दाहाल, लिला श्रेष्ठले आजको कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij