ई–आर्थिक, काठमाडौं । सिभिल बैंक र हिमालयन बैंकबीच मर्जरसम्बन्धी सम्झौता भएको छ । सिभिल बैंक हिमालयनमा गाभिने गरी बुधबार सम्झौता हुँदा स्वाप रेसियो कम देखिए पनि सिभिलका लगानीकर्तालाई फाइदा हुने भएको छ।
सिभिल बैंकका सेयरधनीलाई हिमालयसँग गाभिँदा राम्रो फाइदा हुने भएको छ। सिभिल बैंकले आफ्ना लगानीकर्तालाई मुस्किलले ५ प्रतिशत मात्रै लाभांश दिन सकेको छ । अब आगामी वर्ष नै यसका लगानीकर्ताले पाउने लाभांश कम्तीमा ४ गुणा हुनेछ। अहिले पनि सिभिल बैंकको तुलनामा हिमालयको लाभांश ४ गुणाभन्दा बढी छ।
सिभिलले बैंकका सेयरधनीको १०० कित्ता सेयर हुँदा अब हिमालयसँग गाभिएर एकीकृत कारोबारपछि ८१ कित्ता पाउने भएका छन् ।
सिभिल बैंकका सेयरधनीले पछिल्लो १ दशकमा औसतमा पाएको लाभांश नै जम्मा ५ प्रतिशत मात्रै हुँदा स्वाप रेसियो कम देखिँदा पनि सिभिलका लगानीकर्तालाई भने राम्रो फाइदा भएको छ। अब हिमालयनसँग गाभिएपछि सिभिलका सेयरधनीले कम्तीमा पनि त्यसको ४ गुणा बढी प्रतिफल आगामी आर्थिक वर्षबाटै पाउँछन् ।
हिमालयन बैंकले पछिल्लो १ दशकमा औसतमा २४ प्रतिशत लाभांश दिएको छ । हिमालयले अहिलेसम्म १५ प्रतिशतभन्दा तल झरेर लाभांश दिएको छैन ।
हिमालयन बैंकको अहिले चुक्तापुँजी १२ अर्ब ६८ करोड छ । सिभिल बैंकको ९ अर्ब ७ करोड छ। बैैंक एकआपसमा गाभिएपछि २० अर्ब रुपैयाँ चुक्ता पुँजीको बैंक हुने भएको छ ।
स्वाप रेसियोबाट हिमालयन बैंकले १ अर्ब ७२ करोड पाउने छ, जुन हिमालयन बैंकका सेयरधनीलाई समेत लाभांश बाँड्न मिल्छ ।
सिभिललाई गाभेपछि हिमालयन बैंकको निक्षेप २ खर्ब ५५ अर्ब रुपैयाँभन्दा बढी हुन्छ भने कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ हुनेछ ।