ई–आर्थिक, काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले साउन ४ गतेदेखि साधारण सेयर (आइपीओ) निष्काशनको गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि साउन ४ गतेदेखि १८ गतेसम्मका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आइपीओ जारी गर्न लागेको हो। जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता आइपीओ सामूहिक लगानी कोषलाई र बाँकी २२ लाख ७० हजार २५ कित्ता आइपीओ सर्वधारणको लागि छुट्याइएको छ ।
इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरोसेयरबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको तल्लो लिखु जलविद्युत आयोजना ( २८.१ मे.वा) निर्माण गर्नका लागि कूल खर्च रू. ६ अर्ब ३६ करोड २० लाख अनुमान गरिएको छ भने प्रतिमेगावट लागत खर्च रू.२२ करोड ६७ लाख लाग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८९ दशमलव ८८ रहेको छ । त्यस्तै उक्त अवधिसम्म प्रतिशेयर आम्दानी रू. ४ दशमलव ९२ ऋणात्मक रहेको छ भने संचित नोक्सानी ७ करोड ११ लाख रहेको छ ।