वाशिङटन डीसी (अमेरिका) । अमेरिकी खर्बपति व्यापारी तथा फोब्र्सको धनाढ्य सूची अनुसार विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्क अन्तत : ट्वीटर TWITTER किन्ने प्रस्तावबाट पछि हटेका छन् ।
मस्कले ट्वीटरले आफ्ना विभिन्न प्रतिबद्धता पुरा नगरेको भन्दै ४४ बिलियन डलरको यो प्रस्तावबाट पछि हटेको भन्दै बीबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ। मस्कले खरीद प्रक्रियाबाट आफु अलग हुन वकिलमार्फत अदालतमा नोटिस पनि पठाएका छन् । यसअघि उनले ट्विटर प्रतिकित्ता ५४ डलर २० सेन्टमा किन्ने प्रस्ताव गरेका थिए ।
मस्कले ट्वीटर किन्ने प्रस्ताव गरेपछि ट्वीटरका नक्कली एकाउन्ट बारे पटक – पटक प्रश्न उठाएका थिए । ट्वीटरले आफ्ना नक्कली एकाउन्ट ५ प्रतिशत भन्दा कम रहेको बताए पनि त्यो संख्या धेरै रहेको उनको दाबी थियो । उनले ट्विटरको कुलध्ये कम्तिमा २० प्रतिशत प्रयोगकर्ता नक्कली रहेको पनि सार्वजनिक कार्यक्रममा बताउँदै आएका थिए ।
मस्कले नक्कली ट्विटर प्रयोगकर्ताबारे औंल्याउँदै सम्झौता थाँती राख्दै आएका थिए । पटक – पटक बखेडा झिक्दै आएका उनले ट्विटर खरीदबारे पुन : वार्ता गर्न खोजिने र यसको मूल्य यस अघिकोभन्दा कम हुने पनि बताउँदै आएका थिए । मस्कले सम्झौतापछि स्पाम वा नक्कली खातालाई अड्को बनाएर राखेका थिए ।
तर कम्पनीले एलन मस्क पछि हटेपनि सञ्चालक समिति भने यो खरीद प्रक्रिया पुरा गर्न प्रतिबद्ध रहेको बताएको छ । सञ्चालक समिति अध्यक्ष ब्रेट टेलरले खरीद प्रक्रिया पुरा गर्न प्रतिबद्ध रहेको र कानूनी प्रक्रियामा आफुहरुको जित हुने बताएका छन् । यदि मस्कले गरेको सम्झौता रद्द नै भइहाल्यो भने क्षतिपूर्तिबापत १ अर्ब डलर शुल्क भरपाई गर्नुपर्ने छ ।
सम्झौता पूरा हुने सम्भावना ५० प्रतिशतभन्दा कम रहेको बताउँदै आएका उनले कम्पनी किन्लान् भन्ने अनिश्चिय कायमै रहँदा हालैका दिनमा कम्पनीको शेयरमूल्य ओरालो लागिरहेको थियो । मस्क पछि हटेको सूचना बाहिरएसँगै शेयर बजारमा कम्पनीको शेयरमूल्य ४ दशमलव ९८ प्रतिशतभन्दा बढीले घटेको छ । एजेन्सीहरु