ई–आर्थिक, काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले बिहीवार एक सूचना जारी गर्दै असार २० गतेदेखि आईपीओ जारी गर्ने जानकारी दिएको हो ।
कम्पनीले रू. १९ करोड ५७ लाख ५० हजार बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन । आईपीओमा आवेदन दिने समय असार २३ गतेसम्म रहेको छ । उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन २ गतेसम्म समय थप हुनेछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ६,७ र ११ मा सोलुखोलाको पानीबाट २३ दशमलव ५ मेगावट क्षमताको विद्युत् आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत् २०७८ फागुन ७ गतेदेखि सोलु करिडोर १३२ केभी प्रसारण लाइनमार्फत पूर्ण रूपमा विक्री भइरहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीलाई इक्रा नेपालले इक्राएनपी–आइआर डबलबी प्लस निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्म ८ करोड ३६ लाख ३५ हजार खुद संचित नाफा गरेको छ । उक्त अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ २१ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ४ रुपैयाँ २१ पैसा रहेको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दामा जारी आईपीओ बाँडफाँट
यसैबीच कम्पनीले जारी गरेको स्थानीय आयोजना प्रभावित क्षेत्रका लागि जारी गरिएको आईपीओ बाँडफाँट भएको छ ।
कम्पनीले वैशाख २२ गतेदेखि जेठ २० गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दामा आईपीओ निष्कासन गरेको थियो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि रू। १३ करोड ५० लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित दरका १३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । स्थानीयमा आईपीओ जारी गरेको कम्पनीले असार २० गतेदेखि सर्बसाधारणका लागि आईपीओ निष्कासन गर्ने छ ।
कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमवी क्यापिटल लिमिटेड रहेको छ ।