ई–आर्थिक, काठमाडौं । असारदेखि सेयर कारोबार सातामा ६ दिन हुने भएको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै सातामा ६ दिन नै सेयर कारोबार हुने भएको छ । हरेक शनिबार र सार्वजानिक विदामा भने सेयर कारोबार नहुने भएको छ ।
यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रबार सेयर कारोबार खुला गरेर आइतबार बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेर आउँदो असार १ देखि पुरानै अवस्था अर्थात शनिबार मात्र सार्वजनिक बिदा कायम गरेको छ । यो निर्णयसँगै असार पहिलो सातादेखि लागू हुनेगरी आइतबार पनि सेयर कारोबार खुला गर्ने तयारी नेप्सेले गरेको हो ।
सरकारले आइतबार सार्वजनिक बिदा गरेपछि शुक्रबारको कार्यालय समय बढाएर पूरा दिन बनाइएको थियो । असार देखि शनिबार मात्र सार्वजनिक बिदा हुने भएपछि शुक्रबार कार्यालय समय आधा दिन मात्र कायम हुनेछ ।
यसकारण आइतबारदेखि बिहीबारसम्म चार घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबार साढे २ घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म सेयर कारोबार खोल्ने तयारी भएको नेप्से स्रोतले जनाएको छ ।