२०८३ साउन ९ शनिबार

खानेतेलको कच्चा पदार्थ आपूर्तिमै समस्या

ई आर्थिक    सोमबार, बैशाख १९ २०७९
3.6K
Shares
खानेतेलको कच्चा पदार्थ आपूर्तिमै समस्या

वीरगञ्ज । रूस–युक्रेन तनावले कच्चा पदार्थ आपूर्तिमा समस्या झेलिरहेका स्वदेशी तेल उद्योगीमाथि अर्को समस्या थपिएको छ । अर्धप्रशोधित पाम आयल उत्पादक इन्डोनेशियाले त्यसको निकासी रोकेपछि उद्योगीहरू अन्योलमा परेका छन् ।

कोरोना महामारीका कारण उत्पादन घटेपछि विश्व बजारमा खानेतेलको मूल्य निरन्तर बढिरहेको छ । कोरोनाको असर मत्थर नहुँदै खानेतेल उत्पादक प्रमुख देश रूस र युक्रेनबीच तनाव चुलियो । जसले खानेतेलको कच्चा पदार्थ आपूर्ति शृंखला अवरुद्ध भयो । यसैबीच, इन्डोनेशियाले अर्धप्रशोधित पाम आयल निकासी रोकेपछि समस्या झन् चर्किएको वीरगञ्जस्थित नारायणी आयलका सञ्चालक निखिल चाचानले बताए ।

आन्तरिक बजारमा तेलको मूल्य नियन्त्रण गर्न इन्डोनेशियाले २८ अप्रिलदेखि पाम आयल निकासीमा रोक लगाएको छ । इन्डोनेशियाले मे ७ मा आफ्नो निर्णय पुनरवलोकन गर्ने भनेकाले आयातकर्ता पर्ख र हेरको अवस्थामा रहेको चाचान बताउँछन् ।

स्वदेशी उद्योगले इन्डोनेशियाबाट अर्धप्रशोधित पाम आयल ल्याएर प्रशोधन गर्छन् । नेपालमा उत्पादित तेलको ठूलो अंश भारत निकासी हुन्छ । पछिल्लो समय नेपालको निकासी व्यापारमा खानेतेलकै सबैभन्दा ठूलो योगदान छ । नेपालका करीब २ दर्जन उद्योगले तेल उत्पादन गर्छन् । कच्चा पदार्थको व्यवस्थापन नै चुनौतीपूर्ण भएको अन्नपूर्ण भेजिटेबलका सञ्चालक प्रभुदयाल अग्रवालले बताए । इन्डोनेशियाले १ महीनाअघि नै निर्यातमा नियन्त्रण गरेको अग्रवालको दाबी छ । ‘निर्यात प्रतिबन्धको घोषणा गत हप्ता भए पनि अप्रिलको शुरूदेखि नै कन्साइन्मेन्ट डेलिभरीमा झमेला भइरहेको थियो,’ उद्यमी अग्रवालले आर्थिक अभियानसित भने । दुई महीनाभन्दा लामो समयदेखि चलिरहेको रूसको सैन्य कारबाहीले नेपाल आउने खानेतेलको कच्चा पदार्थ आपूर्ति अवरुद्ध भएको छ । नेपालका तेल उत्पादकले ८० प्रतिशतभन्दा बढी सूर्यमुखी र भटमासको तेल युक्रेनबाटै ल्याउँथे । रूससमेत सूर्यमुखी र तोरीको प्रमुख आपूर्तिकर्ता हो ।

सूर्यमुखी र तोरी आयात अनिश्चित भएपछि भटमासको तेलमा चाप बढेको आयातकर्ता बताउँछन् । कच्चा पदार्थ आपूर्तिमा समस्या आएकाले मूल्य आकाशिएको छ । खानेतेलको मूल्य बढेको ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाले बताए । २ महीनाअघि प्रतिलिटर २५० सम्म रहेको खानेतेलको मूल्य अहिले ३०० रुपैयाँ पुगिसकेको रुंगटाले जानकारी दिए ।

भटमास तेलको उत्पादन लागत बढेको उद्योगी बताउँछन् । ‘युक्रेनमाथि रूसको सैन्य कारबाही शुरू हुनुअघि प्रतिमेट्रिक टन १९०० अमेरिकी डलर रहेको भटमासको अर्द्धप्रशोधित तेलको भाउ अहिले २१०० डलर पुगेको छ,’ चाचानले भनेको समाचार ओमप्रकाश खनालले आजको आर्थिक अभियानमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij