२०८३ साउन ९ शनिबार

गभर्नर अधिकारी निलम्बनको विरोधमा उत्रिए राष्ट्र बैंकका कर्मचारी

ई आर्थिक    आइतबार, बैशाख ४ २०७९
8K
Shares
गभर्नर अधिकारी निलम्बनको विरोधमा उत्रिए राष्ट्र बैंकका कर्मचारी

ई–आर्थिक, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको निलम्बनको विरूद्धमा नेपाल राष्ट्र बैंकका कर्मचारीले आन्दोलन थालेका छन् । सरकारले अधिकारीमाथि छानबिनका लागि निलम्बन गरेकामा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउदै कोणसभाको आयोजना गरेको छन् ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ झुण्डाईएको कालो व्यानरमा “केन्द्रीय बैंकको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप बन्द गर”, “निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर श्री महाप्रसाद अधिकारी माथि शुरु गरिएको कारबाही प्रक्रिया अबिलम्ब फिर्ता गर” र “संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर” भन्ने नाराहरु समावेश गरिएको छ ।
कालो ब्यानर झुण्डाउनु अघि नेपाल राष्ट्र बैंकमा भएको कोणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले जब जब राज्य संचालकहरू वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फस्ने गर्छन्‌ तबतब नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताए । हालको गभर्नर माथिको आक्रमण नयाँ नभई यो भन्दा अगाडि पनि नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमणहरु हुने गरेको स्मरण गर्दै अध्यक्ष तिम्सिनाले केन्द्रीय बैंकको माथि हुने गरेका आक्रमणका बेला नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि बिरोधका कार्याक्रमहरुमा उत्रने गरेको बताए ।

यसअघि पनि केन्द्रीय बैंकका गभर्नरहरु क्रमशः कल्याण विक्रम अधिकारी, तिलक बहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालीन सरकारले गरेको बर्खास्ती तथा निलम्बनको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरु अख्तियार देखि अदालतसम्म गएर आन्दोलन गरेको अनुभव आफूहरुसँग भएको बताउदै अध्यक्ष तिम्सिनाले गभर्नर माथि गरिएको कारबाही फिर्ता लिन नेपाल सरकारलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij