२०८३ साउन ११ सोमबार

अख्तियारद्वारा गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध मुद्दा, सवा चार करोड भ्रष्टाचार गरेको आरोप

ई आर्थिक    बिहिबार, चैत्र १७ २०७८
1.8K
Shares
अख्तियारद्वारा गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध मुद्दा, सवा चार करोड भ्रष्टाचार गरेको आरोप

ई–आर्थिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले गाउँपालिका अध्यक्ष खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध चार करोड २१ लाख ७०६ रुपियाँ बिगो मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

आयोगका अनुसार तत्कालीन प्रशासकीय अधिकृत न्यौपानेपविरुद्ध एक करोड १२ लाख ८२ हजार १७८ रुपियाँ, तत्कालिन लेखापाल दूर्गाबहादुर डिम्दाङ तामाङविरुद्ध एक करोड २६ लाख ७५ हजार ५३०रुपियाँ माग दाबी गरिएको छ ।

आरोपपत्रमा विद्युतीकरण उपभोक्ता समिति नागदहका अध्यक्ष वेदबहादुर पुवाँर, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापामगरविरुद्ध ३५ लाख दुई हजार ६१४, सुनबहादुर तामाङ, करिष्मा परियार, दलबहादुर तामाङविरुद्ध ३७ लाख ८६ हजार ९०२ र होमबहादुर महत, अनिता श्रेष्ठ, डिल्लीबहादुर सुनुवारविरुद्ध ४२ लाख ५३ हजार ३८२ रुपियाँ बिगो माग दाबी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो । सोही अनियमिततामा पाइक कन्स्ट्रक्सन प्रालि महाराजगन्जका सञ्चालक अमृतबहादुर तामाङविरुद्ध पनि ४२ लाख ३५ हजारभन्दा बढी बिगो मागदाबी गरिएको छ ।

त्यस्तै, काजीबाबु श्रेष्ठ, तारा गुरुङ, युवराज सुनुवारविरुद्ध एक करोड दुई लाख ५१ हजार ९९५, प्रचण्ड सुनुवार, घन्टिकादेवी सुनुवार र क्याल्बु तामाङविरुद्ध ३२ लाख २९ हजार ७३८, बुद्धिबहादुर तामाङ, मेनुका खड्का र अश्विन रोकाविरुद्ध ८४ लाख ९१ हजार ६०८, अशोककुमार सुनुवार, दिलमाया थापा र प्रकाश सुनुवारविरुद्ध ६६ लाख ७० हजार ७०८, तत्कालीन लेखापाल नुर्बु लामाविरुद्ध दुई करोड ९४ लाख २५ हजार २०२ र तत्कालीन प्रशासकीय अधिकृत टंकप्रसाद चौलागाईंविरुद्ध तीन करोड आठ लाख १८ हजार ५२८ रुपियाँ बिगो कायम गरिएको छ ।

गाउँपालिका–४ बिजुलीकोट, वडा नम्बर ५ नागदह र वडा नम्बर १ दुरागाउँमा विद्युतीकरण गर्न उपकरण किन्दा खरिद समिति नबनाई आफू अनुकूल उपभोक्ता समिति गठन गरेर आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा अनियमितता गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । खरिद गर्दा चार करोड २१ लाख ७०६ रुपियाँ अनियमितता भएको अख्तियारको अनुसन्धानबाट खुलेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij