२०८३ साउन ९ शनिबार

विदेशी बैंकको शाखा खोल्नदिन राष्ट्र बैंक लचिलो

ई आर्थिक    बिहिबार, चैत्र ३ २०७८
1.8K
Shares
विदेशी बैंकको शाखा खोल्नदिन राष्ट्र बैंक लचिलो

काठमाडौं । विदेशी बैंकहरूलाई नेपालमा शाखा खोल्न दिन नेपाल राष्ट्र बैंक लचिलो बनेको छ । विदेशी बैंकले नेपालमा शाखा खोल्ने व्यवस्थाबारे सन् २०१० मा जारी नीति परिवर्तन गर्दै विदेशी बैंकलाई नेपालमा शाखा खोल्नका लागि न्यूनतम पूँजीसम्बन्धी प्रावधानमा राष्ट्र बैंक लचिलो भएको हो ।

बुधवार निर्देशन जारी गर्दै राष्ट्र बैंकले विदेशी बैंकहरूले शाखा खोल्दा कम्तीमा २ करोड अमेरिकी डलर चुक्ता पूँजी भए पुग्ने व्यवस्था गरेको छ । पहिले न्यूनतम चुक्ता पूँजी २ करोड अमेरिकी डलर (करीब अढाइ अर्ब) तोकिए पनि सन् २०१४ मा संशोधन गरी नेपाली बैंकहरूको विद्यमान पूँजीअनुसार नै कायम गर्नुपर्ने व्यवस्था थप गरिएको थियो ।

हाल वाणिज्य बैंकहरूको न्यूनतम चुक्ता पूँजी ८ अर्ब रुपैयाँ कायम रहेकाले विदेशी बैंकले पनि शाखा खोल्दा उक्त रकमअनुसार नै पूँजी कायम गर्नुपर्थ्यो । तर, नयाँ निर्देशिकाले २ करोड अमेरिकी डलर भए पुग्ने व्यवस्था गरेको छ ।

विदेशी बैंकलाई नेपालमा आकर्षित गर्न चुक्ता पूँजीको व्यवस्था लचिलो गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । ‘यसअघिको प्रावधानका कारण विदेशी बैंकहरू आकर्षित भएनन्,’ उनले भने, ‘त्यसैले पहिलाको व्यवस्थामा केही सुविधा दिएका हौं ।’

राष्ट्र बैंकले १२ वर्षअघि शाखा खोल्न पाउने नीति जारी गरे पनि हालसम्म कुनै विदेशी बैंकले नेपालमा शाखा खोलेका छैनन् । कतारको दोहा बैंक, यूएईको मसरेक बैंक र भारतको आईसीआईसीआई बैंकले मात्र सम्पर्क कार्यालय खोलेका छन् । सम्पर्क कार्यालयले बैंकिङ कारोबार गर्न पाउँदैनन् ।

यी बैंकले पनि शाखाको रूपमा सञ्चालन गर्न चाहेमा राष्ट्र बैंकले तोकेअनुसार चुक्ता पूँजी कायम गर्नुपर्नेछ ।

निर्देशिकाअनुसार विदेशी बैंकका शाखाले ठूलो रकमको निक्षेप संकलन तथा कर्जा लगानी गर्न पाउँछन् । यिनीहरूले कम्तीमा १ करोडभन्दा बढीको निक्षेप र २ करोडभन्दा बढीको कर्जा मात्र लगानी गर्न पाउँछन् । विदेशी बैंकहरूले नेपालमा सम्पर्क कार्यालय खोल्दा वार्षिक रूपमा ५ हजार अमेरिकी डलर शुल्क बुझाउनुपर्ने प्रावधानसमेत राष्ट्र बैंकले निर्देशिकामा थपेको समाचार आजको आर्थिक अभियानले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij