युक्रेनमाथि आक्रमण गरे ‘रूसले महत्त्वपूर्ण र अभूतपूर्व आर्थिक क्षति बेहोर्ने’ अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको चेतावनी
वासिङ्टन : रुसले युक्रेनमाथि आक्रमण गर्ने निर्णय लिइसकेको अमेरिकी राष्ट्रपति जो बाइडेनले दाबी गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही दिनमा आक्रमणका लागि आदेश दिनेमा आफू विश्वस्त भएको बाइडेनको दाबी छ । अमेरिकी गुप्तचर निकायको सुझावमा आफू उक्त निष्कर्षमा पुगेको बाइडेनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
रुसी आक्रमणको निसाना युक्रेनको राजधानी किभ हुने बाइडेनको दाबी छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले ‘रुसी फौजहरू युक्रेनी सीमातर्फ जान थालेका’ जनाएका छन् ।
त्यसैगरी, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि रुसलाई चेतावनी दिएकी छन् । जर्मनीको म्युनिखमा एक सुरक्षा सम्मेलनमा बोल्दै रुसले युक्रेनमाथि आक्रमण गरे अमेरिका र सहयोगी देशबाट ‘महत्त्वपूर्ण र अभूतपूर्व आर्थिक क्षति बेहोर्ने’ बताइन् ।
रुसले युक्रेनका टुक्रिएका पूर्वी क्षेत्रमा विभिन्न संकट खडा गरेर त्यसलाई आक्रमणको बहाना बनाउने पश्चिमा राष्ट्रहरूको छ । रुसले १ लाख ६९ हजारदेखि १ लाख ९० हजार रुसी सैनिक युक्रेनमाथि आक्रमणका लागि तयारी अवस्थामा राखेको अमेरिकाको दाबी छ । त्यसमा पूर्वी युक्रेनका डोनिएत्स्क र लुहान्स्कमा तैनाथ रुसी समर्थन प्राप्त लडाकुको संख्या पनि जोडिएको छ । युक्रेनी सीमामा मात्रै बख्तरबन्द गाडी, तोप तथा अन्य हतियारसहित एक लाखभन्दा बढी रुसी सेना तैनाथ छन् । त्यस्तै, छिमेकी देश बेलारुसमा पनि कम्तीमा ३० हजार रुसी सेना आक्रमणका लागि तयारी अवस्थामा छन् । तर रुसले युक्रेनमाथि आक्रमण गर्ने योजना नरहेको बताउने गरेको छ । अमेरिकालगायत पश्चिमा देशले रुसले हवाई आक्रमणका लागि तयारी तीव्र पारेको भन्दै आफ्ना नागरिकलाई युक्रेन छाड्न सूचना जारी गरिसकेका छन् । कतिपय देशले भने कूटनीतिक निकायका कर्मचारी र उनीहरूका परिवार पनि फिर्ता लगिसकेका छन् ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट गरेको टेलिभिजन सम्बोधनमा बाइडेनले रुसी फौजले युक्रेनमा आगामी दिन वा साता आक्रमण गर्ने योजना बनाएको विश्वस्त सूचना पाएको दाबी गरेका हुन् । ‘अहिलेको क्षणसम्म आइपुग्दा म विश्वस्त छु कि उनले (रुसी राष्ट्रपति पुटिनले) त्यस्तो निर्णय गरिसकेका छन्,’ बाइडेनले भने । यसअघि बाइडेन र अमेरिकी उच्च अधिकारीले आक्रमणको निर्णय लिएको विषयमा जानकारी नभएको बताउँदै आएका थिए ।
युक्रेनले नाटोको सदस्यता लिने तयारी गरेपछि रुस रुष्ट बनेको हो । युक्रेनलाई नाटोमा संलग्न नगराउन तथा पूर्वी युरोपमा नाटोको थप विस्तार रोक्न रुसले माग गर्दै आएको छ । तर अमेरिकालगायत राष्ट्रहरूले रुसी मागमा असहमति जनाउँदै आएका छन् । तर रुसले अझै पनि कूटनीतिक बाटो रोज्न सक्ने र अहिले पनि तनाव कम गरेर वार्ताको टेबलमा फर्कन ढिला नभइसकेको बाइडेनको भनाइ छ । बढ्दै गएको तनाव अन्त्यका लागि कूटनीतिक पहलहरू पनि भएका छन् । जर्मन अधिकारीले कूटनीतिक पहल सफल हुने अपेक्षा राख्दै आएका छन् । तर हालसम्म ठोस निर्णय भने हुन सकेको छैन ।
डोनिएत्स्क र लुहान्स्कका नेताहरूले शुक्रबार युक्रेनले गोलाबारी बढाएको र आक्रमण गरिरहेको भन्दै स्थानीयको उद्धार गर्ने घोषणा गरेका थिए । त्यसयता उक्त क्षेत्रबाट ६ हजार ५ सय स्थानीय अन्यत्र पुगिसकेका जनाइएको छ । ती क्षेत्रका विद्रोहीहरूले युक्रेनी सेनालाई लक्षित गरी तोप तथा ग्रिनेड प्रहार गरेका जनाइएको छ । यद्यपि, उनीहरूको आक्रमणले भएको क्षतिबारे केही उल्लेख गरिएको छैन । ती क्षेत्रमा लाखौं मानिस बसोबास गर्छन् । तर उनीहरूको सामूहिक उद्धार नभए पनि कैयौं मानिस बस चढेर रुस आएका रुसी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनले भने विद्रोहीहरूमाथि आक्रमणको कुनै योजना नबनाएको बताएको छ ।
युक्रेनी विदेशमन्त्रीले ‘रुसले गलत सूचना फैलाएको तथा आक्रमणका लागि पृष्ठभूमि तयार गरेको’ दाबी गरेका छन् । राष्ट्रपति पुटिनले सीमानजिकै शरणार्थी शिविर स्थापना गर्न आदेश दिएका जनाइएको छ । त्यसैगरी, पृथकतावादी क्षेत्रबाट आउने मानिसहरूलाई आपत्कालीन सहायता उपलब्ध गराउनसमेत पुटिनले आदेश दिएका राष्ट्रपति कार्यालयको भनाइ छ । रुसले युक्रेनको दक्षिणी द्वीप क्राइमियालाई नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको करिब ८ वर्षपछि दुई देशबीच तनाव पुनः चर्केको हो । एजेन्सी