ई–आर्थिक, काठमाडौं । कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गर्नुभएको छ । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा लगानी बढाउन आग्रह गर्नुभएको हो ।
‘यो ५७औं वार्षिकोत्सव समारोह सँगसँगै बन्ने नयाँ कार्यक्रममा यहाँहरूले आफ्नो ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्यागिक क्षेत्रको लगानीलाई अवश्य पनि वृद्धि गर्नुहुनेछ’, उहाँले भन्नुभयो, ‘यसलाई सकेसम्म दुई गुणा वृद्धि गर्नुहुनेछ । जसबाट राष्ट्रिय पुँजी निर्माण, उत्पादन तथा रोजगारीमा महत्वपूर्ण योगदान पुग्नेछ ।’ उहाँले सरकारको नीति पनि उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको स्मरण गराउनुहुँदै लगानी त्यसमा लगानी बढाउन आग्रह गर्नुभएको हो ।
मन्त्री शर्माले आत्मनिर्भर हुनका लागि लगानी अति आवश्यक रहेको बताउनुहुँदै बैंकले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
उहाँले राष्ट्रिय वाणिज्य बैंक सरकारी वित्तीय संस्था भएकाले यसले मोडेलको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो’, उहाँले भन्नुभयो, ‘यो रणानीतिमा रहेर यस बैंकले वित्तीय क्षेत्रमा एउटा मोडल स्थापित गर्नुपर्छ ।’ उहाँले बैंकले मोडेल स्थापित गरेर अन्य वित्तीय संस्थाहरूलाई पनि शिक्षा दिन सक्नुपर्ने बताउनुभएको हो ।
पछिल्लो समय प्रविधिको युग रहेको बताउनुहुँदै मन्त्री शर्माले बैंकले सुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (युएसएसडी) प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । यसले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको लाभ ग्राहकले लिनसक्नेमा विश्वास व्यक्त गर्नुभयो । त्यस्तै उहाँले यो प्रविधिबाट वित्तीय साक्षरता तथा वित्तीय पहुँच वृद्धि हुनेमा पनि विश्वास व्यक्त गर्नुभयो ।
बैंकको वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले युएसएसडी सेवाको उद्घाटन तथा ‘उपहार’ पुस्तकको लोकार्पण समेत गर्नुभएको थियो । बैंक २०२२ साल माघ १० गते स्थापना भएको थियो । हाल यसले देशभरका २५८ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले पहिलो लहरको महामारीपछि पुनरुत्थान हुन खोज्दै गरेको अर्थतन्त्रमा अहिले चाप परेको बताउनुभयो । उहाँले बजारमा देखिएको तरलताको व्यवस्थापन गर्न राष्ट्र बैङ्क लागिरहेको जानकारी दिँदै त्यसका लागि राष्ट्र बैङ्कले विभिन्न औजार प्रयोगमा ल्याइरहेको बताउनुभयो ।
केही विषम परिस्थिति आयो भन्दैमा बैङ्कहरू आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँदै साथमा राष्ट्र बैङ्क रहेको छ भन्दै आश्वासन पनि दिनुभयो । विभिन्न चुनौतीको सामना गर्दै राष्ट्रिय वाणिज्य बैङ्कले हासिल गरेका सफलताको प्रशंसा गर्दै गभर्नर अधिकारीले हाल भएका कर्मचारीको सीप र दक्षताको अधिकतम उपयोग गरेर प्रतिस्पर्धामा उत्रन सुझाव दिनुभयो ।
कार्यक्रमा राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समिति अध्यक्ष डा. बलराम पाठकले सरकारको पूर्ण स्वामित्व रहेको यो बैङ्कले सरकारका नीति तथा कार्यक्रमलाई आत्मसात् गर्दै अगाडि बढिरहेको चर्चा गर्नुभयो । उहाँले बैङ्कले ७७ जिल्लाका २५८ शाखामार्फत सेवा प्रवाह गरेको र आगामी दिनमा अझ नयाँ सेवा तथा सुविधा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चालू आर्थिक वर्षको मध्यसम्ममा बैङ्कमा दुई खर्ब ४२ अर्ब रुपियाँ निक्षेप, दुई खर्ब ११ अर्ब रुपियाँ कर्जा परिचालन भएको बताउनुभयो । त्यस्तै यो अवधिमा बैङ्कले एक अर्ब ९२ करोड रुपियाँ खुद नाफा आर्जन गरेको, बैङ्कको बेसरेट ६.६० रहेको र सीडी रेसियो ८३.५१ प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँले यसै वर्ष १० शाखा जिल्ला सदरमुकाममा पु(याउने योजना रहेको बताउनुभयो । उहाँले बैङ्कले नेपाल टेलिकमसँग सहकार्यमा नमस्ते पे सुरु गरेको र प्रतिस्पर्धामा जान नयाँ प्रडक्ट र सफ्टवेयर सञ्चालनमा ल्याउन लागेको पनि बताउनुभयो ।
कार्यक्रममा बैङ्कमा क्रियाशील नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष विपेन्द्र कार्की, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष मिलनबाबु नेपाल र राष्ट्रिय वाणिज्य बैङ्क कर्मचारी सङ्घ नेपालका अध्यक्ष रामप्रसाद जोशीले कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्ने र बैङ्कले गरेको मुनाफाबाट कर्मचारीलाई दिइने लाभांश बढाउनुपर्नेलगायतका माग राख्नुभएको थियो ।
मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु-याउने उद्देश्यका साथ वि. सं. २०२२ माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्क सातैवटा प्रदेश, ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैङ्क हो । हाल देशभर राष्ट्रिय वाणिज्य बैङ्कका २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ स्थानमा शाखारहित बैङ्किङ सेवा सञ्चालनमा छन् ।