ई–आर्थिक, नेपालगञ्ज । जाडोबाट जोगिनका लागि बालिएको कोइलाका कारण निस्सासियर एकै परिवारका चार जनाको मृत्यु भएको छ । बुधबार राति नेपालगञ्जमा भएको सो घटनामा परि तीनजना घाइते भएका छन् ।
भेरी अस्पताल नेपालगञ्जमा कार्यालय सहयोगीको रुपमा कार्यरत धर्मप्रसाद भट्टराईको परिवारका चारजनाको अस्पतालको क्वाटरमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा धर्मप्रसाद भट्टराई, उनका तीन महिनाको छोरा इसन, आमा कोपिला र दिदी नन्दाकली रहेको प्रहरीले जानकारी दिएको छ । धर्मप्रसादकी श्रीमती सुशीला, तीन वर्षको छोरा दिवस र भाइ नरेन्द्र घाइते छन् । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
टीनको डब्बामा कोइला बालेर सुतेका उनीहरुको निस्सासिएर मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ ।