तीव्र कर्जा विस्तारले नाफा वृद्धि, ३२ प्रतिशत कर्जा बढ्दा निक्षेप संकलन दर १७ प्रतिशत मात्र
काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वाणिज्य बैंकले कुल १८ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरूको खुद नाफा करिब २४ प्रतिशत बढेको हो । २०७७ असोजमा ती बैंकको कुल नाफा १४ अर्ब ६० करोड रुपैयाँ थियो । २०७६ असोजको तुलनामा २०७७ को सोही अवधिमा बैंकहरूको खुद नाफा ६ प्रतिशत घटेको थियो ।
चालु आर्थिक वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिन थालेको थियो । सोही कारण केही बैंक तथा वित्तीय संस्थालाई आर्थिक वर्षको सुरुदेखि नै कर्जा प्रवाहमा समस्या पर्न थाल्यो । तर अर्थतन्त्रमा सुधारसँगै आर्थिक गतिविधि बढेकाले कर्जा माग बढेको छ । कर्जा माग बढेपछि तरलता अभावबीच पनि बैंकहरूको खुद नाफा उत्साहजनक रूपमा बढेको जानकारहरू बताउँछन् ।
गएको तीन महिनामा बैंकहरूको व्यवसायको आकार धेरै बढेकाले नाफामा पनि वृद्धि देखिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाइ छ । ‘अहिलेको तीव्र प्रतिस्पर्धाको बजारमा बैंकहरूले व्यवसायको आकार धेरै बढाएका छन् । यही कारण केही मात्रामा नाफा बढाउन सम्भव भएको हो,’ उनले भने, ‘यसकारण पनि नाफामा सुधार भएको हुन सक्छ ।’ गत असोज मसान्तसम्म तरलता संकट धेरै नभएको र त्यतिबेला एक/दुई बैंकले मात्र कर्जा रोकेकाले वित्तीय विवरणमा तरलताको असर देखिइनसकेको उनले बताए । ‘तरलता अभावको असर बल्ल देखिन थालेको छ,’ उनले थपे ।
गत असोजसम्म १ अर्ब १८ करोड रुपैयाँसहित एनआईसी एसिया बैंक सबैभन्दा धेरै नाफा गर्ने बैंकको पहिलो नम्बरमा परेको छ । धेरै नाफा आर्जन गर्नेको दोस्रो सूचीमा नबिल बैंक छ । यो बैंकको खुद नाफा १ अर्ब ११ करोड छ । १ अर्ब ११ करोड कमाएर ग्लोबल आईएमई बैंक तेस्रो, १ अर्ब ५ करोड रुपैयाँ कमाएर राष्ट्रिय वाणिज्य बैंक चौथो र १ अर्ब ४ करोड रुपैयाँ मुनाफा गरेर एनएमबी बैंक पाँचौं नम्बरमा छन् । पहिलो त्रैमासमा उल्लिखित ५ बैंकले एक अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् । बाँकी बैंकको नाफा एक अर्ब रुपैयाँभन्दा कम छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म चारवटा बैंकले मात्र एक अर्ब रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेका थिए ।
पहिलो त्रैमासमा सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक बैंक अफ काठमान्डू बनेको छ । तीन महिनामा यो बैंकको खुद नाफा २५ करोड ३४ लाख रुपैयाँ मात्र छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको स्प्रेड (कर्जा निक्षेपबीचको ब्याज अन्तर) भने एक प्रतिशत बिन्दुभन्दा धेरैले खुम्चिएको देखिन्छ । तथ्यांकअनुसार गत असोजमा बैंकहरूको स्प्रेड औसत ३.२४ प्रतिशत थियो । गत आर्थिक वर्षको सोही अवधिमा यो दर ४.३५ प्रतिशत थियो । तीन महिनामा बैंकहरूको ब्याज आय करिब साढे १२ प्रतिशत बढेको छ । पहिलो त्रैमासमा २७ वटा बैंकको कुल ब्याज आय ९३ अर्ब २ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ८२ अर्ब ७० करोड रुपैयाँ थियो ।
आर्थिक वर्षको सुरुमै बैंकहरूको कर्जा विस्तार तीव्र गतिले भएको देखिन्छ, जसअनुसार पहिलो त्रैमासमा बैंकहरूको कर्जा वृद्धिदर करिब ३२ प्रतिशत छ । यो राष्ट्र बैंकले तय गरेको कर्जा विस्तारको वार्षिक लक्ष्यभन्दा बढी हो । सोही अवधिमा बैंकहरूको निक्षेप संकलन करिब १७ प्रतिशत मात्र बढेको देखिन्छ । निक्षेप संकलनको तुलनामा कर्जा विस्तार तीव्र भएकाले वित्तीय प्रणालीमा तरलता अभाव रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

सोमबार एक अन्तर्क्रिया कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड महामारीका कारण सुस्ताएको अर्थतन्त्र केही महिनायता तीव्र गतिको लयमा फर्किंदा वित्तीय प्रणालीमा तरलतामा अभाव देखिएको बताए । आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको ‘गहिरिँदो तरलता अभाव : कारण र समाधान’ विषयक अन्तर्क्रियामा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन अवधिमा बैंकहरूको कर्जा विस्तार शून्य बराबर रहेकामा अहिले अर्थतन्त्र फेरि लयमा फर्किंदा कर्जा माग अत्यधिक बढेकाले तरलतामा चाप परेको उनको भनाइ थियो ।
‘गत साउनको तेस्रो साताबाट आर्थिक गतिविधि लयमा फर्किन थाले । अघिल्लो वर्षको पोलिसी इन्टरभेन्सनपछिको रिकभरी सुरु भयो,’ अधिकारीले भने, ‘सरकार र राष्ट्र बैंकको नीति तथा व्यावसायिक समुदायको जागरुकताका कारण अर्थतन्त्र पुनरुत्थान (रिकभरी) को गति अत्यन्त राम्रो भयो । फलस्वरूप कर्जाको माग बढेको हो ।’
राष्ट्र बैंकका अनुसार गत साउनदेखि आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले करिब ३ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । सोही अवधिमा कुल निक्षेप ६० देखि ७० अर्ब हाराहारीमा मात्र छ । ‘उक्त अवधिको कुल कर्जा विस्तारमध्ये ५० प्रतिशतभन्दा बढी आयात प्रवाह भएको छ,’ उनले भने, ‘यो डरलाग्दो अवस्था हो । अब सो क्षेत्रमा कर्जा विस्तार कम गरेर उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नुपर्छ ।’
अहिले थप कर्जा विस्तारका लागि बैंकहरूलाई समस्या भए पनि कर्जा रोक्नुपर्ने अवस्था आउन नदिने अधिकारीले बताए । ‘अनुत्पादक क्षेत्रमा कर्जा रोक्नुस्, आर्थिक वृद्धिलाई टेवा पुर्याउने उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्नुस् । राष्ट्र बैंकले बजारमा स्रोत अभाव हुन नदिने वातावरण बनाउँछ ।’ गएका महिनाहरूमा दिन नहुने क्षेत्रमा पनि बोलाइ–बोलाइ कर्जा दिएकाले तरलता अभाव भएको उनको भनाइ रहेको समाचार यज्ञ बञ्जाडेले आजको कान्तिपुरले लेखेको छ ।