२०८३ साउन ११ सोमबार

बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो, ५२ जना बेपत्ता

ई आर्थिक    बिहिबार, कार्तिक ४ २०७८
2.3K
Shares
बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो, ५२ जना बेपत्ता

भारी बर्षाको सभावना कम रहेपनि डुबान, बाढी तथा पहिरोको जोखिम टरिनसकेको भन्दै विभागले सचेत गराएको छ

ई-आर्थिक, काठमाडौं । आइतबारदेखि परेको अविरल वर्षाका कारण ७७ जनाको मृत्यु भएको छ । विगत २४ घण्टायता मात्र ५२ जनाभन्दा बढीको ज्यान बाढीपहिरोमा परी ज्यान गएको छ । बाढी पहिरोबाट अझै २७ जनाभन्दा बढी वेपत्ता भएका छन् ।

यो जनधनको क्षति मनसुनको सम्पूर्ण अवधिमा भएको भन्दा बढी रहेको गृहमन्त्रालयस्थित विपत् व्यवस्थापन महाशाखाले जानकारी दिएको छ ।

प्राप्त जानकारी अनुसार बाढीपहिरोमा परी २२ जना घाइते रहेका छन् । बुधबार साँझसम्म सबैभन्दा बढी पहिरोले मानिसको ज्यान लिएको छ । जसअनुसार पाँचथरमा पहिरोमा परी २४ जनाको मृत्यु भएको छ । त्यसपछि इलाममा पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ । डोटी पहिरोमा परी १२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै पहिरोबाट कालीकोटमा एक, बैतडीमा चार, डडेल्धुरमा एक, बझाङमा दुुई, हुम्लामा छ, सोलुखुम्बुमा एक र धनकुटामा सात जनाको मृत्यु भएको छ ।

महाशाखाका अनुसार बाढीले बगाएर प्युठानमा एक, मोरङमा एक र उदयपुरमा दुुई जनाको मृत्यु भएको छ । बझाङको भेल पहिरोमा परेर अझै २१ जना हराइरहेका छन् । त्यस्तै इलामको पहिरोमा तीन, जुम्ला र प्युठानको बाढीमा तीन जना हराइरहेका छन् । पछिल्लो विवरणअनुसार आइतबार यता प्रदेश १ मा मात्र बाढीपहिरोले ५० जनाको ज्यान लिएको छ । यसअघि मनसुनको अवधिमा बाढीपहिरोले १२६ जनाको ज्यान लिएको छ । बाढीपहिरोका कारण देशका विभिन्न ११ जिल्लाका प्रमुख तथा सहायक राजमार्ग अवरुद्ध भएका छन् । केहीमा एकतर्फी सञ्चालनको प्रयास भएको छ ।

तीनवटा मौसम प्रणाली जुद्धा नेपालमा मनसुनपछि अत्यधिक भारी वर्षा गराएको मौसमविद्हरूले बताएका छन् । शनिबार रातिदेखि सक्रिय भएको वर्षाको मौसमी प्रणाली बिहीबारदेखि सुधारोन्मुखतर्फ अग्रसर हुने जल तथा मौसम विज्ञान विभागजानकारी दिएको छ । विभागका अनुसार सुदूूरपश्चिम तथा पश्चिमी भेगमा वर्षा हुने क्रम रोकिएको छ भने पूर्वतर्फ पनि बुधबार साँझदेखि कम हुँदै गएको छ ।

बिहीबारदेखि हल्का रूपमा कतैकतै वर्षा भए पनि भारी वर्षाको सम्भावना कम रहेको विभागले जानकारी दियो । तर बुधबारसम्मको अविरल वर्षाले पूर्वी तराईका धेरै भेगमा डुबान, बाढी तथा पहिरोको जोखिम भने टरिनसकेको भन्दै विभागले सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij