ई–आर्थिक, काठमाडौं । सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।
बैंकले २०७८ भाद्र १६ देखि कात्र्तिक १४ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नुहुनेछ । सेल्फ हेल्प बैंकिङ्गको अवधारणा अनुरुप एनआईसी एशिया मोबाइल बैंकमार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहक महानुभावहरूले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सकिने बैंकले जानकारी दिएको छ ।
यस योजना अन्तर्गत ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआईसी एशिया मोबाइल बैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नुहुनेछ । यसका लागि ग्राहक महानुभावहरूले आफ्नो मोबाइलमा रहेको एनआईसी एशिया मोबाइल बैंक भित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नुहुनेछ ।
यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । कोभिड–१९ को महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहक महानुभावहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा वहाँहरूको अमूल्य समयको बचत भई महामारीका बीच भौतिक दुरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको बैंकले जानकारी दिएको छ ।
२७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका पनि बैंकको भनाई छ ।
देशको कुल जनसंखया मध्ये २० वर्ष उमेर समूह देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।
जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामिण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको बैंकले जनाएको छ ।