२०८३ साउन २१ बिहिबार

नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलोपटक एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत आइपीओ आवेदन दिन सकिने

ई आर्थिक    सोमबार, साउन ११ २०७८
3.2K
Shares
नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलोपटक एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत आइपीओ आवेदन दिन सकिने

ई–आर्थिक, काठमाडौं । सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूको लामो लाइन बसी आइपीओ फारम बुझाउने झन्झटलाई न्यूनिकरण गर्ने उद्देश्यले अतुलनीय सहजता सहित नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एन आई सी एशिया मोबैंक एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आइपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ ।

यस बैंकमार्फत डिम्याट खाता खोल्नुभएका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिनु भएका ग्राहक महानुभावहरूले यस नवीन सेवा अनुसार आइपीओ खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नुहुने बैंकले जानकारी दिएको छ ।

कोभिड–१९ महामारीको जोखिम कायम रहेका बेला ग्राहक महानुभावहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आइपीओ आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगी एन आई सी एशिया मोबैंकबाट आइपीओ आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको बैंकको भनाई छ ।

बैंकको एन आई सी एशिया मोबैंक प्रयोगकर्ता महानुभावहरूले एप भित्र रहेको एप्लाई सेयर आइकनमा ट्याप गरेर आवेदन दिन सकिने बैंकले जनाएको छ । एप्लाई सेयर आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ । त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर सबमिट गरेपश्चात आवेदन पूरा हुनेछ ।

ग्राहक महानुभावहरूले आफ्नो स्मार्टफोन प्रयोग गरी आइपीओ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आइपीओ आवेदन दिनुपर्ने झन्झबाट ग्राहक महानुभावहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

यसरी घरमै बसेर आइपीओ भर्ने सुविधा लिनका लागि बैंकका ग्राहक महानुभावहरूले एन आई सी एशिया मोबैंक डाउनलोड गरी तथा यस बैंकमा डिम्याट खाता खोली वा अहिलेसम्म बैंकमा आबद्ध नहुनुभएमा यस बैंकमा बचत खाता खोलेर एन आई सी एशिया मोबैंक डाउनलोड तथा सो बैंकमा डिम्याट खाता खोल्नु भई समयमै आइपीओ भर्ने सुविधाबाट लाभान्विन हुन सकिने पनि बैंकले विश्वास लिएको छ । साथै, बैंकले आफ्नो वेबसाइट धधध।लष्अबकष्बदबलप।अयm मा रहेको एप्लाई नाउ आइकनमा ट्याप गरेर समेत आइपीओ आवेदन दिन सकिने व्यवस्था गरेको बैंकले जानकारी दिएको छ ।

डिजिटल फस्र्टको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई एन आई सी एशिया मोबैंक प्लाटफर्ममार्फत अघि बढाईरहेको छ ।

जसअनुसार ग्राहक महानुभावहरूले एन आई सी एशिया मोबैंक प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसि/एनसेल टपअप, युटिलीटि बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा प्रोग्रेस ट्रयाकिङ आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले लिन सकिने व्यवस्था गरेको छ ।

साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले आईसर्भ प्लाटफर्मको विकास गरी एन आई सी एशिया मोबैंक तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ । यस आईसर्भमार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट, टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेसमेन्ट आवेदन र इन्स्टा बाई) ग्राहक महानुभावहरूले सरल तरिकाले लिन सकिने व्यवस्था बैंकले गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

करिब २७ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका बैंकको भनाई छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी आर्थिक वर्ष २०७६/७७ मा करिब रू. २ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij