ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र भण्डारी बैकबाट विदाई गरिएको छ । ४ वर्षको सफल कार्यकाल समापन गरी आफ्नो पदीय जिम्मेवारीबाट उनले अवकाश लिएका छन् ।
कुमारी बैंकको संचालक समितिको बैठकको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहनुभएका अनुज मणि तिमिल्सिनालाई लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकलगायत बैंकिङ क्षेत्रमा लामो समय काम गरिसकेका कामु सीइओ तिमिल्सिनाले यसअघि सेन्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवारी सम्हालिसकेका छन् । उनी कुमारी बैंकमा सुरेन्द्र भण्डारी पछि दोस्रो मूख्य पदमा कार्यरत थिए ।

३५ वर्षको लामो बैंकिंङ्ग करियर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको वृहत कार्यकालको अनुभव कमाउन सफल सुरेन्द्र भण्डारीको कार्यकाल सुखद् र अत्यन्तै सफलदायी रहेको जानकारी कुमारी बैंकले दिएको छ ।
उनको कार्यकालमा बैंकले प्रशंसनीय प्रगति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको छ । बैंकले यही कार्यकालमा ७ विभिन्न वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निक्कै फराकिलो पारेको थियो ।
बैंकको सञ्चालक समितिको बैठकमा सुरेन्द्र भण्डारीले आफ्नो परिवार तथा समाजप्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएको हुनाले पदभारबाट विदा लिन चाहेको जानकारी गराउंदै नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नका लागि शुभकामना पनि दिए ।